इजरायलमा मारिएका विद्यार्थीको सम्झनामा दीप प्रज्वलन

२३ आश्विन २०८०, मंगलवार २२:०१

२३ असोज, स्वच्छखबर, काठमाडौँ ।  इजरायलमा अध्ययन गरी फर्केका नेपालीहरूको सङ्गठन सलोम क्लब नेपालले गत शनिबार इजरायलमा आतङ्ककारी सङ्गठन हमासले गरेको आक्रमणमा परी ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीको सम्झनामा बौद्धनाथ स्तुपमा दीप प्रज्वलन गरेको छ ।

क्लबका कार्यवाहक अध्यक्ष कपिलदेव रेग्मीलगायत क्लबका पदाधिकारी, साधारण सदस्य तथा इजरायलका मित्रहरूको सहभागितामा भएको उक्त कार्यक्रममा सयौँले एक मिनेट मौन धारण गरेका थिए ।

आक्रमणमा ज्यान गुमाएका नेपालीका साथै इजरायलीलगायत सबैको आत्माको चिरशान्तिको कामना गरिएको थियो । नेपालका शैक्षिक प्रतिष्ठानमा स्वयंसेवा गर्न आएका इजरायली विद्यार्थीको पनि कार्यक्रममा सहभागिता थियो ।

यसैबीच, क्लबले एक विज्ञप्ति निकालेर आतङ्कवादी हमलाको निन्दा गर्दै ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि तथा उनीहरूका परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

©२०२२ स्वच्छ साप्ताहिकमा सर्वाधिकार सुरक्षित

Maintained By: I.T. Lization Pvt. Ltd.