नेपाललाई हवाई सुरक्षा चासोको सूचीबाट हटाउन इयूलाई अर्थमन्त्रीको आग्रह

२६ आश्विन २०८०

२६ असोज, स्वच्छखबर, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले युरोपेली सङ्घका कमिस्नर जुत्ता उर्पियालिनेनलाई भेटेर नेपाललाई हवाई सुरक्षा चासोको सूचीबाट हटाउन आग्रह गेका छन् ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को वार्षिक बैठकमा भाग लिने क्रममा मोरक्कोको मारकेसमा रहेका अर्थमन्त्री महतले साइड लाइन वार्तामा युरोपियन कमिस्नरसँग यस्तो आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

इयूलाई नेपालमा आर्थिक सहायता बढाउन मन्त्री महतले आग्रह गरे । सन् २०१३ देखि इयूले नेपालका वायु सेवा कम्पनीलाई हवाई सुरक्षा चासोमा राखेको छ । जसका कारण नेपाली वायुसेवा कम्पनीले युरोपको आकासमा उडान गर्न पाउँदैनन् ।

इयूले २०७९ असारमा नेपालका वायुसेवा कम्पनीको अनुगमन गर्दा हवाई सुरक्षा चासोबाट हटाउन अस्वीकार गरेको थियो । विसं २०७९ फागुनमा इयूले हवाई सुरक्षाको अवस्थाका विषयमा स्थलगत अनुगमन गर्ने योजना सार्वजनिक गरेको थियो । तर गत माघमा पोखरा विमानस्थलमा भएको दुर्घटनापछि इयूको टोली नेपाल अनुगमनमा आएको छैन ।

यस वर्ष गत साउन र भदौमा इयूको हवाई सुरक्षा समितिले नेपाली वायुसेवा कम्पनी र हवाई सुरक्षाको विषयमा स्थलगत अध्ययन गरेको छ । अघिल्लो वर्ष नोभेम्बरमा इयूले प्रकाशित गरेको प्रतिवेदनमा नेपाली वायुसेवा कम्पनीको हवाई सुरक्षा चासोमै केन्द्रित भएको थियो । भेटमा जुत्ता उर्पियालिनेनले नेपालमा रहेको दूतावासबाट काम गर्ने र हवाई सुरक्षाका विषयमा छलफल गर्ने बताए ।