चाडपर्वमा सडकमा कोही पनि बस्नुपर्दैन भन्ने सुन्दा सन्तोष मिलेको छ : प्रधानमन्त्री
२६ असाेज, स्वच्छखबर,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चाडपर्वमा कोही व्यक्ति सडकमा बस्नु नपरोस् भनेर मानव सेवा आश्रमले आजदेखि सुरु गरेको मेची महाकाली उद्धार अभियानले आफूलाई निकै सन्तोष मिलेको बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ मेची महाकाली उद्धार अभियानमा सरिक आश्रमका अभियन्ताहरुलाई विदाई गर्दै प्रधानमन्त्री दाहालले यो अभियानले आफूलाई हर्षित तुल्याएको र चाडपर्वका बेलामा अब असहायलाई सडकबाट उद्धार गरी आश्रय दिनु महत्वपूर्ण विषय भएको बताए ।
राजनीतिक दबाब र तनावपूर्ण चुनौती मात्रै नभइ समाजसेवा झन् बढी महत्वपूर्ण रहेको अनुभूति गर्ने अवसर यो कार्यक्रमले आफूलाई दिएको उल्लेख गर्दै उनले आश्रमको महत्व थाहा पाएसँगै सरकारका तर्फबाट सहयोग गर्ने बताए ।
उनले भने, “आउँदो दिनमा राज्यकोतर्फबाट पनि अझै धेरै जिम्मेवारी लिनुपर्छ भन्ने मैले ठानेको छु, नेपालमा मानवसेवा र सामाजिक सेवाका निम्ति संकल्पका साथ लाग्ने व्यक्तिको कमी छैन भन्ने कुरा आश्रमले स्थापित गरेको छ, बधाई दिन चाहन्छु ।” उनले मेची महाकाली यात्रा पूर्ण सफलताको शुभकामना पनि दिए ।
सो अवसरमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अत्यन्तै कठिन अवस्थामा रहेका दाजुभाइ दिदीबहीनी आमाबुबा र बालबालिकालाई आश्रमले संरक्षण गरिरहेकोमा प्रशंसा गरे ।
मुलुकभित्र जति पनि सकारात्मक काम भइरहेका छन् ती सबैलाई जोडेर सामाजिक, आर्थिक रुपान्तरणसहित उन्नतशील राष्ट्र बनाउने अभियानमा सरकारले जोड दिइरहेको उनको भनाइ थियो । यस अभियान सफल बनाउनका लागि सरकार आवश्यक सहयोग रहने प्रतिबद्धता पनि जनाए ।
कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडीले) आश्रमले गरेको पुण्य कामको शब्दमा बयान गर्न नसकिने बताए । त्यसक्रममा मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले देशका १९ जिल्लाका २४ शाखामा हाल एक हजार छ सय सहयोगापेक्षी आश्रित रहेको जानकारी दिए ।
आज प्रधानमन्त्री कार्यालयबाट बिदाइ भएका मेची महाकाली उद्धार अभियानमा सहभागी ३८ जना अभियन्ताले भोलि मेची पुलबाट उद्धार थाल्ने उनले जानकारी दिए ।
कूल ३८ दिनसम्ममा तीन सयभन्दा बढी सडक आश्रित मानवलाई उद्धार गर्ने योजना छ । यसअघि पनि आश्रमले मेची महाकाली अभियान चलाइसकेको छ । आश्रमले विसं २०८२ सम्म देशलाई नै सडक मानव मुक्त बनाउने सङ्कल्प लिएको छ ।
प्रतिक्रिया दिनुहोस्: