त्रिकोणात्मक सिरिजमा नेपालको लगातार दोस्रो जीत

२ कार्तिक २०८०

२ कार्तिक स्वच्छखबर, काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालले लगातार दोस्रो जीत निकालेको छ । बिहीबार दिउँसो भएको खेलमा हङकङलाई ६ विकेटले हराउँदै नेपालले सिरिजमा शानदार शुरुवात गरेको हो ।

जीतको लागि ९६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ४ विकेटको क्षतिमा ९९ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । नेपालको लागि आसिफ शेखले सर्वाधिक ४२ रन बनाए । उनले ३४ बलमा ६ चौका प्रहार गरे । यस्तै कप्तान रोहित पौडेलले २५ र गुलसन झाले १४ रन बनाउँदै नेपाललाई जीत दिलाएका हुन् ।

हङकङको लागि इशान खानले ४ ओभरमा १० रन दिएर ३ विकेट लिँदा यासिम मुर्ताजाले एक विकेट लिए ।

यसअघि मुलपानि क्रिकेट स्टेडियममा भएको खेलमा टस हरेर पहिले ब्याटिङको निम्तो पाएको हङकङ १९३ ओभरमा अलआउट हुँदै ९४ रनमा समेटिएको थियो । हङकङको लागि यासिम मुर्ताजाले सर्वाधिक ३६ रन बनाए । उनले ३६ बलमा २ चौका र एक छक्का प्रहार गरेका हुन् । यस्तै जेशन अलीले २० बलमा २ चौकाको मद्दतमा १७ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

नेपालको लागि करण केसीले ४ ओभरमा ५ रन दिएर ४ विकेट लिँदा सोमपाल कामी र अविनाश बोहोराले समान दुई-दुई विकेट लिए । यस्तै कुशल मल्ल र मौसम ढकालको नाममा एक-एक विकेट रह्यो ।

जीतसँगै नेपालले दुई खेलबाट ४ अंक जोद्दै तालिकाको शीर्ष स्थानमा रहेको छ ।