विश्वकपमा छनौट भए नोबेल मेडिकल कलेजले १५ लाख रुपैयाँ दिने

१६ कार्तिक २०८०

१६ कार्तिक स्वच्छखबर, काठमाडौँ ।  विराटनगरको नोबेल मेडिकल कलेजले टी–२० विश्वमा छनौट भएमा नेपाली टोलीलाई एकमुष्ट १५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । काठमाडौँमा जारी सन् २०२४ को विश्वकपबाट नेपाल दुई खेल मात्रै टाढा छ ।

कलेजले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वकप छनौट भएमा अफिसियलसहितको नेपाली टोलीलाई एकमुष्ट १५ लाख दिने घोषणा गरेको हो । सिंगापुर र मलेसियाविरुद्ध लगातार जित निकाल्दै एक खेल अगावै सेमिफाइनल पुगेको नेपालले आज ओमानविरुद्ध हुने खेलमा घरेलु टोली नेपालले टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा केहिबेरमा शुरु हुने खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले आजको खेलमा टोलीमा परिवर्तन गरेको छैन । मलेसियाविरुद्ध उत्रेको टोलीलाई नेपालले आजपनि निरन्तरता दिएको छ । आज हुने खेलमा दुवै टोली जीत निकाल्ने लक्ष्यसहित मैदान उत्रिनेछन् । नेपाल र ओमान आज समूह ‘ए’को विजेता बन्न खेल्दैछन् । यसअघिनै सेमिफाइनल पुगिसकेका नेपाल र ओमानमध्ये आजको खेल जित्ने टोली समूह विजेता बन्दै सेमिफाइनलमा पुग्नेछन् । यसअघि समूहको खेलमा दुवै टोलीले मलेसिया र सिंगापुरलाई हराएका थिए ।

पछिल्लो समय ओमान उत्कृष्ट लयमा रहेको छ । ओमानले आफ्नो पछिल्लो ५ खेलमा सतप्रतिशत जीत निकालेको छ । दुई टोलीबीच भएको पछिल्लो ४ खेलमा ओमानले एक खेल जित्दा नेपालले तीन खेल आफ्नो पक्षमा पारेको थियो । नेपालको प्लेइङ ११ : आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), सन्दीप जोरा, विवेक यादव, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र अभिनाश बोहरा ।

सेमिफाइन पुगिसकेको नेपाली टोली फाइनल प्रवेश गरेमा १० वर्षपछि आगामी वर्ष अमेरिका र क्यानडामा हुने टी–२० विश्वकप खेल्नेछ । यस्तै, छनौट प्रतियोगिताको उपाधि नै जितेमा पुरस्कार राशि थप ५ लाख रुपैयाँले बड्ने घोषणा कलेजले गरेको छ ।