भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माण गर्न प्रतिपरिवार ५० हजार रुपैयाँ दिने सरकारको निर्णय

२६ कार्तिक २०८०

२६ कार्तिक स्वच्छखबर, काठमाडौं । सरकारले भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

आइतबार उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितको अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार ५० हजार रुपैयाँका दरले उपलब्ध गराउने निर्णय गरेको हो ।

उक्त रकम २५/२५ हजार रुपैयाँका दरले दुई किस्तामा उपलब्ध गराइने छ। साथै बझाङ केन्द्रविन्दु बनाई गएको भूकम्पबाट पीडितलाई अस्थायी आवासका लागि प्रतिपरिवार ५० हजार उपलब्ध गराउने यसअघिको गृहमन्त्री स्तरीय निर्णयलाई अनुमोदन समेत गरेको छ ।

बैठकले राहत उपलब्ध गराउन जाजरकोट र रुकुम पश्चिम जिल्लालाई पाँच/पाँच करोड उपलब्ध गराउने कार्यकारी प्रमुख स्तरीय निर्णयको अनुमोदन गरेको छ। साथै जाजरकोट, पश्चिम रुकुम र सल्यानमा प्रमुख जिल्ला अधिकारीले प्रतिकार्यका लागि गर्नसक्ने खर्च र सीमा समेत तोकेको छ ।

भूकम्पका कारण क्षति भएका निजी आवास, सार्वजनिक भवन र संरचनाको प्रवलीकरण, पुनर्निर्माण र पुनर्स्थापना योजना बनाउन विस्तृत क्षति आंकलन–मुल्यांकन जनशक्ति र खर्चबारे समेत बैठकले आवश्यक निर्णय गरेको छ।