टिकटकलाई बन्द गर्ने सरकारको निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट

१ मंसिर २०८०

१ मंसिर स्वच्छखबर,काठमाडौं । टिकटकलाई बन्द गर्ने सरकारको निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा निवेदन परेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्चमा रिट निवेदन दिएक हुन् ।

रिट अहिले दर्ताको क्रममा रहेको उनले बताए । त्रिपाठीले टिकटक बन्द गर्ने सरकारको निर्णय गैर कानुनी र संविधानको भावना विपरीत रहेको दाबी गरेका छन् । वरिष्ठ अधिवक्ता त्रिपाठीले टिकटक बन्द गर्ने निर्णय विद्युतीय कारोबार ऐन २०६३ र दूरसञ्चार ऐन २०५३ विपरीत रहेको समेत दाबी गरेका छन् ।

टिकटक बन्द गर्ने निर्णय बदर गर्न अन्तरिम आदेशको मागदाबी रिटमा गरिएको छ। यस्तै, सामाजिक सञ्जालको नियमन गर्ने सम्बन्धमा दूरसञ्चार तथा प्रविधि क्षेत्रका विज्ञहरु सम्मेलित कार्यदल गठन गर्ने आदेश पनि रिटमा माग गरिएको छ । सरकारले गत सोमवार सामाजिक सद्भाव खलल पुर्याउन भूमिका खेलेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

त्यसलगत्तै प्राधिकरणले नेपालका इन्टरनेट सेवाप्रदायकहरूलाई टिकटक नचल्ने बनाउन निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार अहिले नेपालमा टिकटक नचल्ने भएको छ ।