विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियालाई

३ मंसिर २०८०

 ३ मंसिर स्वच्छखबर, काठमाडौँ । भारतलाई पराजित गर्दै विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाले जितेको छ । आइतबार भारतको अहमदावादस्थित नरेन्द्र मोदी मैदानमा घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलियाले छैटौँ पटक उपाधि जितेको हो । अस्ट्रेलियाले ४ विकेटको क्षतिमा ४३ ओभरमा २४१ रनको लक्ष्य पूरा गरेको हो ।

अस्ट्रलियाको जितमा ट्रेभिस हेड नायक बने । २४१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाका लागि हेडले १३७ रन बनाए । यस्तै मार्नस लाबुसांगेले नटआउट ५८ रन बनाए ।

यी दुईबीचको साझेदारीले अस्ट्रेलियालाई छैटौँपटक विश्वविजेता बनायो । भारतका लागि जसप्रित बुमराहले दुई विकेट लिए भने प्रतियोगितामा सर्वाधिक २४ विकेट लिएका मोहम्मद शामी र मोहम्मद सिराजले एक विकेट लिए । यसअघि अस्ट्रेलियाका मिचेल स्टार्कले तीन विकेट लिएपछि भारत ५० ओभरमा २४० रन बनाउँदा अलआउट भएको थियो ।

टस जितेका अस्ट्रेलियाका कप्तान पाट कमिन्सले पहिला बलिङको निर्णय लिएका थिए । जुन सही सावित भयो । प्रतियोगितामा भारत लगातार १० खेल जितेर फाइनलमा हारेको छ भने अस्ट्रेलियाले सुरुवाती दुई खेलमा हार व्यहोरेको थियो ।

यसअघि अस्ट्रेलियाले १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो । यसअघि भारत र अस्ट्रलियाबीच २००३ मा पनि फाइनलमा भिडन्त भएको थियो । जसमा अस्ट्रेलियाले जित हात पारेको थियो ।