इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी

११ मंसिर २०८०

११ मंसिर स्वच्छखबर, काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनमाथि ३–० गोलको एकतर्फी जित निकालेको हो ।

युनाइटेडलाई जिताउनका लागि एलेजान्ड्रो ग्रान्चोले तेस्रो मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । उनले डिएगो डालोटको पासमा गोल गरेका हुन् । पहिलो हाफमा १ गोल गरेको युनाइटेडले दोस्रो हाफमा २ गोल थपेको थियो । ५६ औं मिनेटमा मार्कस रासफोर्डले पेनाल्टीमा गोल गरेपछि युनाइटेड २–० ले अघि बढ्यो ।

यसैगरी ७५ औं मिनेटमा एन्थोनी मार्सिएलले ब्रुनो फर्नान्डेजको पासमा गोल गरेपछि युनाइटेड ३–० को सहज जित निकाल्न सफल भयो ।
जितपछि युनाइटेड १३ खेलबाट २४ अंक जोड्दै तालिकाको छैटौं स्थानमा उक्लिएको छ । पराजित भएको एभर्टन भने पुछारबाट दोस्रो स्थानमा छ ।

प्रिमियर लिगकै अर्को खेलमा एस्टन भिल्लाले टोटनह्यामहटस्परमाथि २–१ गोलको पुनरागमन जित निकालेको छ ।
२२ औं मिनेटमा टोटनह्यामले जियोभानी सेल्सोको गोलमा अग्रता लिएको थियो । तर, पहिलो हाफको अतिरिक्त सातौं मिनेटमा फाओ फ्रान्सिस्को टोरेसले गोल गरेपछि खेल एक एकको बराबरीमा आएको थियो ।

६१ औं मिनेटमा ओले वाटिसनले गोल गरेपछि एस्टन २–१ को जित निकाल्न सफल भयो । जितपछि एस्टन २८ अंकका साथ चौथो स्थानमा उक्लदा टोटनह्याम २६ अंकका साथ पाँचौं स्थानमा झरेको छ ।
प्रिमियर लिगमा आज राति नेपाली समय अनुसार पौने २ बजे फुलह्याम र वुल्भ्स आमने सामने हुने छन् ।