वेश्यावृत्ति गराएको आरोपमा स्पा सेन्टरका संचालक पौडेल पक्राउ

११ मंसिर २०८०

११ मंसिर स्वच्छखबर,काठमाडौँ । काठमाडौंको रातोपुलस्थित एक स्पा सेन्टरमा छापा मारेर प्रहरीले सञ्चालकलाई पक्राउ गरेको छ । नुवाकोट ब्यूटी पार्लर एण्ड स्पा सेन्टरका सञ्चालक दिनेश पौडेललाई प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।

स्पा सेन्टरको आवरणमा युवतीहरुलाई रोजगारको प्रलोभनमा वेश्यावृत्तिमा लगाउने गरेको समेत खुलेको छ । पौडेलले स्पामा काम गर्ने युवतीहरुलाई जबरजस्ती वेश्यावृत्तिमा लगाई यौन शोषण गर्ने गरेको सूचनापछि ब्यूरोले कारबाही थालेको हो । ब्यूरोको टोलीले नावालिकासहित तीन युवतीहरुलाई उद्दार गरेको छ ।

ब्यूरोका प्रवक्ता एसपी कृष्णप्रसाद पगेनीका अनुसार पौडेल र उनको समूहले आर्थिक अवस्था कमजोर भएका, ग्रामीण भेगका अनपढ युवतीहरुलाई आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारी स्पा सेन्टरमा काम गर्न बोलाउने गरेका थिए ।

पौडेलले यसरी स्पामा काम गर्ने युवतीहरुलाई आलोपालो एक ठाउँबाट अर्को ठाउँमा पठाउने गरेका थिए । ब्यूरोले काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान गरिरहेको जनाएको छ ।