‘आमा सेमिनार’ मा थामिएन अश्रुधारा !

१८ मंसिर २०८०

१८ मंसीर स्वच्छखबर, अमृता बजगाईँ, दाङ । भक्कानिएको मन र आखाँभरि टिलपिल आँशु । दाङमा भएको ‘आमा सेमिनार’ मा सहभागी बृद्ध देखिबालक, विद्यार्थी, अभिभावक र युवा सम्म प्रायः सबैको आखाँबाट अश्रुधारा बगिरहेको थियो ।सेमिनारमा प्रस्तुत भएको आमाको त्याग, पीडा र रोदन सम्बन्धी भिडियो र बिचारले सायदै कसैको आखाँ ओभानो थिएन् । मातापिता र मातृभूमिप्रतिको  दायित्वबोध गराउने प्रस्तुतिले सहभागीहरु कार्यक्रमभरी नै सुम्क सुक्न रोहीरहे ।

मानवता, राष्ट्रियता, परोपकार, राष्ट्रप्रेम र आफुलाई जन्मदिने मातापिताको महत्वबोध गराई प्रेम, सद्भाव र करुणालाई जन–जनमा पु¥याउने उद्देश्यसहित सञ्चालन भएको उक्तआमा सेमिनारमा ८ सय बढीको सहभागीता रहेको थियो ।

विगत १५ बर्षदेखी उत्प्रेरणात्मक कार्यक्रमहरुको सहजीकरण गर्दै आइरहनुभएका मानवसेवा आश्रमका प्रमुख संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारीज्यूको प्रस्तुतिले दाङ मातृत्व र मातृभूमिको सम्मान र गौरवमा भूलेको थियो । उहाँले हालसम्म झण्डै १ हजार बढी यस प्रकारका उत्प्रेरणात्मक कार्यक्रमरुको सहजीकरण गरिसक्नुभएको छ ।

दाङको कराही रेस्टुरेन्टमा भएको सेमिनारमा लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्के हुनुहुन्थ्यो भने तुलसिपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्का, दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी, दाङ जिल्ला समन्वय समितीका प्रमुख मोहन सुवेदी, बबई गाउँपालिका अध्यक्षकुल बहादुर खत्री (के.सी),तुलसिपुर उप–महानगरपालिकाका सम्पुर्ण वडा परिवार लगायत जिल्ला प्रहरी कार्यालय दाङ ,इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी बलका प्रतिनिधीहरु लगाएत विभिन्न संघसंस्था, ,बिद्यालय ,कलेज परिवार, समाजसेवी र बुद्धिजिवीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

यस्तै आगामी मंसिर २७ गते बुधबार बाकेँको नेपालगञ्जमा र पुष १४ गते रुपन्देही बुटवलमा आमा सेमिनार आयोजना हुनेछ । केही समय अघि बेलायतको विभिन्न सहरमा समेत भव्यताको साथ सम्पन्न भएको आमा सेमिनार फेबु्रअरी १३ बाट अस्ट्रेलियाको विभिन्न सहरमा प्रस्तुत हुनेछ ।

घरपरिवार र आफन्त विहीन भई सडकआश्रित हुनपरेका मानवहरुको उद्धार, उपचार, पालनपोषण गर्दै आइरहेको मानवसेवा आश्रमले यस्तो अवस्था नै सृजना नहोस् भन्ने हेतुले आमा सेमिनार सहित विभिन्न उत्प्रेरणात्मक कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ। २०६९ सालदेखी नै देशव्यापीरुपमा सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवन विताउन विवश अनाथ, अपाङ्ग, अशक्त, असहाय, शारिरीक तथा मानसिकरुपमा अति कमजोर मानवहरुको उद्धार, उपचार, पालनपोषण एवं पारिवारीक पुनर्मिलनको सेवामा समर्पित हुँदै आइरहेको मानवसेवा आश्रमले २०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपालनिर्माणको लक्ष्यलिएको छ ।