ठूलोखोला जलविद्युत् आयोजनाको टनेल ‘ब्रेकथ्रु’

२४ मंसिर २०८०

२४ मंसीर स्वच्छखबर, बेनी ।म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा निर्माणाधीन २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको टनेल ‘ब्रेकथु्र’ भएको छ । इन्लेट र आउटलेट गरी दुई ठाउँबाट मात्रै टनेल निर्माण गरिरहेको आयोजनाले करिब २० महिनामा दुई हजार सात सय मिटर लामो मुख्य सुरुङ (हेडरेस टनेल) निर्माण गरेको हो ।

संयुक्त ऊर्जा लिमिटेडले निर्माण गर्न लागेको यस आयोजनामा २०७८ मङ्सिरदेखि टनेल निर्माण सुरु भएर शनिबार टनेल ब्रेकथ्रु गरेको आयोजनाका प्रमुख रवीन्द्र हमालले जानकारी दिए ।

उनका अनुसार हिमाली क्षेत्र र प्राकृतिक प्रकोपलगायत कारण आयोजनामा करिब २० महिनामात्रै नियमितरूपमा काम भएको छ । “आयोजनाको सबैभन्दा कठिन मानिने टनेल जोड्ने काम सकिएको छ, ड्यामसाइड र विद्युतगृहमा समेत धमाधम काम भइरहेको छ”, उनले भने ।

सत्तरी प्रतिशत निर्माण सम्पन्न भएको यस आयोजनामा आगामी आठ महिनाभित्र निर्माण सकेर विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ । रघुगङ्गा नदीस्थित फेदीखोलामा मुहान रहने यस आयोजनामा पानीलाई छरीस्थित रघुगङ्गा नदीको किनारमा रहने विद्युतगृहमा खसालेर विद्युत् उत्पादन गरिनेछ ।

आयोजनामा छ सय मिटर पेनस्टक टनेल रहनेछ । चार सय ९५ मिटर पेनस्टक टनेल खनिसकिएको छ भने एक सय मिटर भर्टिकल पेनस्टक टनेलमध्ये ५० मिटर खन्न बाँकी छ ।