मलेसियामा साथीको हत्या गरेर भागेका अनिल साह विमानस्थलबाट पक्राउ

१ पुष २०८०

१ पुष, स्वच्छखबर, काठमाडौं । वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका एक नेपालीको हत्या भएको छ । हत्या आरोपमा उनीसँग एकै कम्पनीमा काम गर्ने एक नेपाली पक्राउ परेका छन् ।

झापाको शिवसताक्षी नगरपालिका–३ का ४० वर्षीय धनबहादुर प्रधान विगत एक वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा थिए । उनको गत मंसिर २५ गते हत्या भएको हो।

उनको हत्या आरोपमा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट महोत्तरीको गौशाला नगरपालिका–५ का २४ वर्षीय अनिलकुमार साहलाई पक्राउ गरेको हो । अनिल धनबहादुरको हत्यापछि भागेर नेपाल आएको भन्दै मृतक धनबहादुरकी श्रीमतीले दिएको जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

अनिललाई मंसिर ३० गते आफ्नो हुलिया बदलेर हिमालयन एयरलाइन्सबाट नेपाल आउँदै गर्दा जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको प्रहरी टोलीले विमानस्थलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका अनिलविरूद्ध ज्यानसम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरेर इन्टरपोलमार्फत मलेसियन प्रहरी र मलेसियास्थित नेपाली राजदूतावाससँग समेत समन्वय गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।