सुवास तामाङलाई इण्डियन गल्फ च्याम्पियनसिपको उपाधि

२ पुष २०८०

२ पुस, स्वच्छखबर, काठमाडौं । नेपालका नम्बर एक एमेच्योर गल्फर सुवास तामाङले भारतको प्रतिष्ठित आइजीयु १२२औँ एमेच्योर गल्फ च्याम्पियनसिप अफ इण्डियाको उपाधि हात पारेका छन् ।

रोयल कलकत्ता गल्फ क्लबमा म्याच–प्ले फरम्याटमा खेलिएको ३६–होलको फाइनल खेलमा सुवासले भारतीय खेलाडी रोहितलाई पराजित गर्दै उपाधि जितेका हुन् ।

३६ होलको फाइनल खेलमा २९औँ होलमा ९ होलको अग्रता बनाएपछि सुभाषले उपाधि पक्का गरेका हुन् । सुभाषले शनिबार भएको खेलमा दक्षिण अफ्रिकाका एल्टिन भान डर मर्वलाई पराजित गर्दै फाइनमा पुगेका हुन् । नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सुवास दोहोरो स्वर्ण पदक विजेतासमेत हुन् ।

नेपाल ओलम्पिक कमिटीबाट सन् २०२४ को पेरिस ओलम्पिक गेम्सका लागि छात्रवृत्ति प्राप्त गरेका सुवास विगत दुई वर्षदेखि भारतको बैंग्लुरुस्थित तरूण सरदेशाई एकेडेमीमा प्रशिक्षणरत रहेका छन् ।