एनसेलबारे अनावश्यक कचिङ्गल र भ्रम सिर्जना गर्ने षड्यन्त्र असफल हुन्छः प्रधानमन्त्री

५ पुष २०८०

५ पुष, स्वच्छखबर, काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार ऐतिहासिकरुपमा सफल भएको दाबी गरेका छन् । बिहीबार साँझ विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दैै प्रधानमन्त्रीले राष्ट्रियरुपमा मात्र नभई अन्तराष्ट्रिय रुपमा पनि ऐतिहासिक रुपमा सफल भएको दाबी गरेका हुन् ।

उनले भने, ‘सबै मन्त्रालयको बिफ्रिङ लिएर समीक्षा गरिरहेको छु । अब नयाँ ढंगले जाने, विकास निर्माण र जनताको सेवा अगाडि बढाउने योजना बनाउने हो । अब टार्गेट दिइन्छ । त्यो अनुसार भएन भने सोच्नुपर्छ । मिडियामा पनि पुरै नबुझी लेखिदिनुहुन्छ कि के गर्नुहुन्छ थाहा भएन । तर, सरकारले सामाजिक न्याय, मिटरब्याजपीडित, नागरिकता समस्या हल भयो । भ्रष्टाचार र सुशासनको पक्षमा यो लेबलको कहिल्यै छलफल भएको थियो ? भू–माफियाको विरुद्ध कदम चालिएको छ । अन्तराष्ट्रिय रुपमा पनि ऐतिहासिक रुपमा सफल छ ।’

प्रधानमन्त्रीले एनसेल प्रकरणबारे आफूले संसदीय समितिमा कुरा राखिसकेको र कानुन भन्दामाथि कोही नरहेको बताए । उनले भने, ‘एनसेल काण्डमा पर्याप्त तथ्य तथ्याङ्कसहित आफूले संसदीय समितिमा कुरा राखिसकेको छु र विधि, विधान र कानूनभन्दा माथि कोही छैन । यसलाई अनावश्यक कोट्याउन आवश्यक छैन । विधि, विधार र कानूनभन्दा बाहिर केही गर्न दिइँदैन । यसको बारेमा अनावश्यक कचिङ्गल र भ्रम सिर्जना गर्ने षड्यन्त्र असफल हुन्छ ।’