उपलब्धिमाथिको प्रहार रोक्न कांग्रेस नै बलियो हुनुपर्छः सभापति देउवा

५ पुष २०८०

५ पुष, स्वच्छखबर, जनकपुरधाम । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस बलियो भएमा मात्रै संविधान र परिवर्तनको रक्षा हुने बताएका छन् ।

नेपाली कांग्रेस मधेस प्रदेशको आयोजनामा आजदेखि जनकपुरधाममा सुरुभएको प्रथम मधेस प्रदेश सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले सङ्यीयता, समावेशिता र पछिल्ला उपलब्धिमाथिको प्रहार रोक्न पनि कांग्रेस र मधेस बलियो हुनुपर्ने बताएका हुन् ।

पूर्व प्रधानमन्त्री देउवाले समावेशी, समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गर्न अपनाइएका निर्वाचन प्रणालीका कारण कुनै पनि पार्टीको एकल सरकार बनाउन नसक्ने हुँदा गठबन्धन गर्नु परेको उल्लेख गरे । उनले पार्टीभित्रको अविश्वास र अन्तर्घातलाई रोकेर एकताबद्ध हुनसके कांग्रेसलाई थप ठूलो पार्टी बनाउन सकिने धारणा राखे । त्यसका लागि सबैले एकजुट भएर पार्टी सङ्गठन निर्माणमा लाग्नुपर्ने उनको भनाइ थियो ।

सम्मेलनमा पार्टी उपसभापति एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले मधेशलगायत प्रदेश सरकारले सङ्घीयताको कार्यान्वनका सन्दर्भमा व्यक्त भएका असन्तुष्टि सम्बोधन गर्न कांग्रेससहितको वर्तमान सरकारले छिट्टै आवश्यक प्रक्रिया टुङ्गोमा पुर्याउने बताए ।

उनले विगतमा मधेशवादी दलहरुले संविधान संशोधनका लागि उठाएका माग सम्बोधन गर्न कांग्रेसले दोस्रो पटक संविधान संशोधनको प्रस्ताव पेश गरे पनि अन्य दलका कारणले सफल नभएको स्मरण गर्दै फेरि पनि कांग्रेसले नै मधेसका चिन्ता र चासो सम्बोधन गर्न नेतृत्व गर्ने बताए ।