चीनमा देखिएको निमोनिया नेपालमा पनि फैलन सक्ने सम्भावना,तयारी अवस्थामा रहन अस्पतालहरूलाई निर्देशन

६ पुष २०८०

६ पुष, स्वच्छखबर, काठमाडौं ।  चीनका बालबालिमा देखिएको कडा खालको निमोनिया नेपालमा पनि फैलन सक्ने सम्भावना भएकाले रोकथामका लागि तयारी अवस्थामा रहन सरकारले अस्पतालहरूलाई निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले निमोनियाको रोकथाम र उपचारका लागि अस्पतालहरूलाई उच्च सतर्कता साथ तयारी अवस्थामा राखिएको बताए ।

बुढाथोकीका अनुसार रेस्पिरेटरी सिन्सिटिअल भाइरस (श्वासप्रश्वासमा असर गर्ने भाइरस) ले गर्दा चीनका बालबालिकामा कडा खालको निमोनिया देखिएको छ । कोरोना भाइरस जस्तै सर्ने डरले नेपालले उक्त रोगको उपचार र रोकथाममा लागि सबै निकायलाई सचेत गराइसकेको उनले जानकारी दिए ।

बुढाथोकीले चीनबाट प्रवेश गर्ने सीमा नाका र अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेक्समा चेकजाँच कडाइ गरिएको बताए । ‘चीनमा यसको सङ्क्रमण देखिएको पनि धेरै समय भयो । यदि नेपालमा प्रवेश गर्ने थियो भने पहिल्यै नै आइसक्ने थियो’, उनले भने, ‘अहिले हामीले अस्पताललाई तयारी अवस्था राखेका छौँ भने सबैलाई सचेत रहन आग्रह गरेका छौँ ।’

मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले नेपालमा यसअघि देखिएका भन्दा फरक र लामो समयसम्म निमोनियाका लक्षण देखिएका बिरामीको नमुना सङ्कलन गर्न सम्बद्ध सबैलाई निर्देशन दिइएको बताए । इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले उक्त निमोनियाको रोकथाम तथा उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, जनस्वास्थ्य प्रयोगशाला, कान्ति बाल अस्पतालसँग छलफल गरिसकेको उनले जानकारी दिए ।

महाशाखाका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त ओझाले सम्भावित जोखिम कम गर्नका लागि सरोकारवाला निकायसँग छलफल गरिएको बताए । उनले चीनमा देखिएको निमोनिया कुनै नौलो किसिमको सङ्क्रमण नभएको र श्वासप्रश्वाससम्बन्धी रोग रहेको उल्लेख गर्दै सबै निकायलाई सचेत बनाइएको जानकारी दिए ।