एकदिवसीय सिरिजको उपाधि भारतलाई

६ पुष २०८०

६ पुष, स्वच्छखबर, काठमाडौं । दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको एकदिवसीय सिरिजको उपाधि भारतले जितेको छ । सिरिजको तेस्रो तथा अन्तिम खेलमा घरेलु टोलीलाई ७८ रनले हराउँदै भारतले उपाधि २–१ ले जितेको हो ।

२ सय ९७ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४५ दशमलव ५ ओभरमा २ सय १८ रनमा अल आउट भयो । दक्षिण अफ्रिकाका लागि ओपनर टोनी डी जोर्जी ८१ रनमा आउट भए। मध्यक्रम र तल्लोक्रम नचल्दा नतिजा दक्षिण अफ्रिकाको पक्षमा गएन ।

कप्तान एडेन माक्ररम ३६, डेविड मिलर १०, हेनरिक क्लासेन २१, केशव महाराज १४ र बेउरान हेन्डिक्सले १८ रन बनाए । भारतका अर्शदीप सिंहले चार, आवेश खान र वासिन्टन सुन्दरले दुई–दुई तथा अक्षर पटेल र मुकेश कुमारले समान एक–एक विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९६ रन बनाएको थियो ।
भारतको जितमा सञ्जु स्यामसनले सर्वाधिक १ सय ८ रनको शतकीय इनिङ खेलेका थिए। सञ्जुको यो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो शतक हो ।

तिलक बर्मा ५२ रनमा आउट हुँदा रजत पाटिदार २२, साई सुदर्शन १०, लोकेश राहुल २१ र अक्षर पटेल १ रनमा आउट भए। रिंकु सिंहले ३८ रनको योगदान दिए ।

दक्षिण अफ्रिकाका बेउरान हेन्ड्रिक्सले तीन, नान्द्रे बर्गरले दुई, लिजाड विलियम्स, विवान मुल्डर र केशव महाराजले एक–एक विकेट लिए ।
यसअघि यी दुई टोलीबीच भएको तीन खेलको टी२० सिरिज १–१ को बराबरीमा सकिएको थियो । पहिलो खेल वर्षाका कारण रद्द भएको थियो ।