सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्छ : सभापति देउवा

९ पुष २०८०

९ पुष, स्वच्छखबर, दमौली । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्ने बताएका छन् । नेपाली कांग्रेस तनहुँले सोमबार आयोजना गरेको जिल्ला सम्मेलन तथा भवन उदटन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले गणतन्त्रको विकल्प नभएको बताए ।

सभापति देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनका लागि दलबीच सहमति र सहकार्यको आवश्यकता रहेको औँल्याए ।

देउवाले पार्टीलाई बलियो बनाउन पार्टीभित्र समझदारी र एकताको खाँचो रहेको पनि बताए । उनले भने, “पार्टीलाई बलियो बनाएर अघि जानुपर्छ । तबमात्र देशको ठूलो र शक्तिशाली पार्टी बन्न सकिन्छ ।” सभापति देउवाले अहिलेको संविधानका कारण एउटै पार्टीको बहुमत आउने अवस्था नरहेकाले चुनावमा गठबन्धन गरेर जानुपरेको दाबी गरे ।

उनले भने, “संविधान समावेशी छ । संविधानका कारण एउटै पार्टीको बहुमत आउँदैन । गठबन्धन गरेर जाँदा कांग्रेस ठूलो शक्तिका रुपमा निर्माण गर्न सकिन्छ ।”

कार्यक्रममा कांग्रेस उपसभापति एवं कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री धनराज गुरुङले सहमति, सहकार्य र समझदारी अहिलेको आवश्यकता रहेको औँल्याए । देशको प्रमुख समस्या अशिक्षा, गरिबी र भ्रष्टाचार भएकाले यसको अन्त्यका लागि कांग्रेस, एमाले र माओवादी मिल्नुपर्नेमा उनले जोड दिए ।

तीन दलबीचको एकताबाट मात्र मुलुक समृद्ध हुने बताउँदै उनले भने, “विस्तृत शान्ति सम्झौतादेखि हालसम्म भएका उपलब्धि तीन दलको एकताले भएको हो । त्यो एकता अझै आवश्यक छ ।”

यसअघि सभापति देउवाले कांग्रेस तनहुँको नवनिर्मित भवनको उद्घाटन गरेका थिए । नेपाली कांग्रेस तनुहँले निर्माण गरेको सो भवनको सभापति देउवाले शिलालेख अनावरण गरी उद्घाटन गरेका छन् ।