डेडिकेटेड र ट्रंक लाइनको महसुल नतिर्ने बाँकी उद्योगको पनि लाइन काट्ने प्राधिकरणको चेतावनी

१२ पुष २०८०

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको महसुल नतिर्ने बाँकी उद्योगको पनि लाइन काट्ने चेतावनी दिएको छ । बिहीबार पत्रकार सम्मेलन गरी प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हाल ६१ वटा उद्योगको बक्यौता रहेको र ती सबैको लाइन क्रमशः काट्दै जाने चेतावनी दिएका हुन् ।

घिसिङले वर्षौंदेखि उद्योगीहरूले डेडिकेटेड र ट्रंकलाइनको रकम नतिरेकोमा आफू मौन बस्ने अवस्था नरहेको बताए । उनले भने, ‘६१ वटा उद्योगको यस्तो बक्यौता छ । हामी क्रमिक रूपमा अन्यको पनि लाइन काट्दै जानेछौैं । यो मैले रोकेर रोकिने विषय नै छैन। तालिका बनाएर कति समयमा तिर्न सकिन्छ। यो पहिलो विकल्प हो।’

उनले यसरी महसुल तिर्न आउँदा बक्यौताको २५ प्रतिशत रकम जम्मा गरे समस्या समाधान हुने तर आफू मौन बस्न नमिल्ने बताए । विद्युत् महसुल आयोगले मूल्य निर्धारण गर्नुअघि २०७२ माघदेखि २०७५ वैशाखसम्मको विद्युत प्रयोग स्वभाविक भए पनि २०७५ पछिको र २०७३ माघ अघिको अवस्थामा के गर्ने स्पष्ट निर्देशन कहीँबाट नभएको कारण बिल काट्न बाध्य भएको घिसिङले बताए ।

पछिल्लो एक महिनामा ४५ वटा मुद्दामा विद्युत् प्राधिकरणको पक्षमा फैसला आएको र विगतदेखिका मुद्दा केहीगरी समाधान हुन नसकेको हकमा लाइन काट्न बाध्य भएको उनले बताएका छन्।