पोखरालाई हराउँदै ललितपुर नेपाल सुपर लिगको फाइनलमा

१२ पुष २०८०

१२ पुष, स्वच्छखबर, काठमाडौँ ।  ललितपुर सिटी एफसी दोस्रो संस्करणको नेपाल सुपर लिग(एनएसएल)को फाइनलमा पुगेको छ । बिहीबार बेलुकी भएको दोस्रो क्वालिफायरमा पोखरा थन्डर्सलाई अतिरिक्त समयमा २-१ गोलले हराउँदै ललितपुरले फाइनलमा धनगढीसँगको भेट पक्का गरेको हो ।

धनगढी यसअघिनै पहिलो क्वाफिलायरमा पोखरालाई पेनाल्टी सुटआउटमा हराउँदै फाइनलमा पुगिसकेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको निर्धारित ९० मिनेट १-१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको ९९ औं मिनेटमा कुशल देउवाले गोल गर्दै ललितपुरलाई जित दिलाएका हुन् ।

यसअघि पहिलो हाफको इन्जुरी समयमा इमो इजेकेइले गोल गर्दै ललितपुरलाई शुरुवाती अग्रता दिलाएका थिए । ७१ औं मिनेटमा स्टेफेन कोजो पापा अनोरले गोल गर्दै पोखरालाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

जितसँगै ललितपुर फाइनलमा पुग्दा पराजित पोखरा प्रतियोगिताबाट बाहिरिएको छ । अब धनगढी र ललितपुरबीचको फाइनल खेल शनिबार हुनेछ ।