अर्थतन्त्र सुधार्न कांग्रेसले सरकारको नेतृत्व लिनुपर्छ : शेखर कोइराला

१३ पुष २०८०

१३ पुष, स्वच्छखबर, पाँचथर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशको अर्थतन्त्र सुधार्न नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस, जिल्ला कार्यसमिति पाँचथरको प्रथम जिल्ला सम्मेलनमा सहभागी हुन फिदिम पुगेका कोइरालाले पत्रकारहरुसँग कुरा गर्दै मुलुकलाई सही दिशा दिन सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने बताएका हुन् ।

उनले देशमा सुशासन कायम नहुँदा अराजकता बढेको बताए । जनतामा व्याप्त निराशाको अन्त्यका लागि आफ्नो पार्टीले सरकारको नेतृत्व लिनुपर्नेमा उनको जोड थियो । देशलाई निकास दिन प्रधानमन्त्री फेर्ने प्रयास भइरहेको कोइरालाको भनाइ छ । उनले ठूला भ्रष्टाचारका काण्डमा शीर्ष नेताहरूकै हात रहेको बताए ।

कोइरालाले भ्रष्टाचारको काण्डमा नेताहरूको नाम मुछिएपछि ढाकछोप गरिएको बताए । उनले भने, ‘सुन काण्डमा ठूला नेता मुछिएपछि सामसुम भयो, एनसेल खरिद बिक्री काण्डमा पनि त्यस्तै भएको छ ।’