ठमेलमा ‘न्यू इयर इभ’ सडक महोत्सव हुँदै,एक लाख ८० हजार पर्यटक आउने अपेक्षा

१४ पुष २०८०

१४ पुष, स्वच्छखबर, काठमाडौं ।  अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ लाई स्वागत गर्न काठमाण्डौको प्रमुख पर्यटकीय नगरी ठमेलमा सडक महोत्सव हुने भएको छ ।

शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ठमेल पर्यटन विकास परिषद्को आयोजनामा पुस १५ भोलि बेलुका ठमेलमा सडक महोत्सव हुने जानकारी गराइएको हो । यसले कोरोनाबाट असर पुगेको ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा छ ।

परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेलको पर्यटन क्षेत्रको विकासका लागि ठमेलमा रहेको सञ्चयकोष अगाडिको मुख्य सडकमा ठमेल सडक महोत्सव आयोजना गर्न लागेको जानकारी दिए । ठमेल पर्यटन विकास परिषद्ले विगतका वर्षहरुमा झै यस वर्ष पनि नयाँ वर्ष २०२४ को पूर्वसन्ध्यामा सडक महोत्सव गर्न लागिएको जनाएको छ । परिषद्का अध्यक्ष शर्माले पुस १५ गते आइतवार साँझ साढे ५ बजे शुरु हुने जानकारी दिए ।

‘ठमेलमा जाऔँ, ठमेलमै बसौँ, ठमेलमै घुमौँ, ठमेलमै रमाऔँ’ नाराकासाथ सडक महोत्सव तथा बृहत् सांस्कृतिक कार्यक्रम हुनेछ । ठमेलमा आयोजना हुन लागेको सडक महोत्सवमा एक लाख ८० हजार जनाको सहभागिता रहने परिषद्को अनुमान छ ।

ठमेल सडक महोत्सवलाई सुरक्षित रुपमा सम्पन्न गर्न नेपाल प्रहरीसँग सुरक्षा व्यवस्थापन र ट्राफिक प्रहरीसँग ट्राफिक व्यवस्थापका बारेमा छलफल भइसकेको अध्यक्ष शर्माले जानकारी दिनुभयो । विगतको तुलनामा यसवर्ष ठमेलभित्रका हरेक चोकमा सीसी क्यामरा जडान गरिएकाले ढुक्क भएर ठमेलमा घुम्न र मनोरञ्जन लिन परिषद्ले सबैलाई आग्रह गरेको छ ।

सडक महोत्सव सम्पन्न गर्न २२ लाख रुपैयाँको हाराहारीमा खर्च हुने परिषद्का अध्यक्ष शर्माले बताए । नेपाल आएका पर्यटकमध्ये झण्डै ८० प्रतिशत पर्यटक ठमेल घुम्न आउने गरेको परिषद्ले जनाएको छ । ठमेलभित्र झण्डै दुई हजार व्यवसायी तथा घरधनी रहेका छन् ।

ठमेल पर्यटन विकास परिषद्का महासचिव राजीव पाण्डेले ठमेल क्षेत्रलाई २४सै घण्टा सञ्चालन गर्ने वातावरण निर्माणका लागि परिषद्ले विभिन्न निकायसँग छलफल गरिरहेको बताए ।