स्पेनिस ला लिगामा रायो भालकानो विजयी

१८ पुष २०८०

१८ पुष, स्वच्छखबर, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रायो भालकानो विजयी भएको छ । गएराति भएको खेलमा गेटाफेमाथि २–० को जित निकालेको हो । गेटाफको जुआन मिगुएल लतासाले दोस्रो पहेँलो कार्ड पाउँदै ४० औं मिनेटमा मैदान छाडेपछि १० खेलाडीमा झरेको थियो ।

पहिलो हाफको अतिरिक्त पहिलो मिनेटमा रायो भालकानोले अग्रता लिएको थियो । उसका सर्जियो क्यामेलोले गोल गरेका थिए । पहिलो हाफमा १ गोल गरेको रायो भालकानोले दोस्रो हाफको सुरुमै गोल थपेको थियो । ४७ औं मिनेटमा सर्जियो क्यामेलोले नै व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए ।

५० औं मिनेटमा गेटाफेका मेसन ग्रीनवुड रातो कार्ड पाउँदै मैदान छाडेका थिए । ग्रीन वुड बाहिरिए पछि ९ खेलाडी समेटिएको गेटाफेले ७० औं मिनेटमा अर्का खेलाडी पनि गुमाउन पुग्यो । डेमियन सुआरेज रातो कार्ड पाउँदै मैदान छोड्दा बाँकी समय ८ खेलाडीले खेलेको थियो । तर, त्यसको फाइदा रायो भालकानोले लिन सकेन । जितपछि रायो भालकानो २३ अंकका साथ ११ औं स्थानमा छ भने पराजित भएको गेटाफे २६ अंकका साथ तालिकाको आठौं स्थानमा छ ।