राष्ट्रिय सभाका उम्मेदवार छनोटप्रति महामन्त्री थापाको दुई बुँदे असहमति

२३ पुष २०८०

२३ पुष, स्वच्छखबर, काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रियसभा सदस्यका उम्मेदवार छनोटप्रति लिखित असहमति जनाएका छन्।

कांग्रेस संसदीय बोर्डले गएराति पार्टीका पूर्वमहामन्त्री कृष्ण सिटौलासहित १० जना उम्मेदवारको नाम टुंग्याएको छ। त्यसप्रति थापाले लिखितरूपमा असहमति जनाएका हुन्।

महामन्त्री थापाले संसदीय बोर्ड बैठकमा दुई बुँदामा राखेको फरक मत यस्तो छ:

१. हाम्रो संविधानले राष्ट्रिय सभामा खासगरी प्रतिनिधि सभामा प्रतिनिधित्व हुन नसकेमा जाति, वर्ग र क्षेत्रको प्रतिनिधित्व र राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका एवं विज्ञ व्यक्तिहरूको उपस्थितिको परिकल्पना गरेको छ। यसैगरी कांग्रेस केन्द्रीय कार्यसमितिको पुस १२-१४ गतेसम्म बसेको बैठकले राष्ट्रिय सभाको उम्मेदवार चयन सम्बन्धमा “हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वन्चित भएका योग्य तथा लोकप्रिय व्ययक्तिलाई प्राथमिकता दिने” लगायतको मापदण्ड तय गरेको थियो। संसदीय बोर्डको आजको बैठकले उम्मेदवारको चयन गर्दा माथि उल्लिखित पक्षमा यथेष्ट ध्यान पुर्‍याउन सकेन।

२. यस निर्णयले पार्टीमा कुनै पनि आग्रह नराखीकन निर्णय हुन्छ, सबै तह र तप्काका साथीहरूलाई समान ढंगले न्यायको अनुभूति र अवसरमा स्थान हुन्छ भन्ने विश्वासलाई पुनः एकपटक खण्डित गरेको छ। यस्तो आग्रहपूर्ण निर्णयले पार्टीभित्रको लोकतन्त्रलाई समेत थप कमजोर बनाउँछ। अत: आजको निर्णयप्रति मेरो लिखित असहमति रहेको छ। मेरो असहमतिका बाबजुद बैठकमा बहुमतले गरेको निर्णय कार्यन्वयनमा जाँदा मेरो पूर्ण संग्लग्नता रहने नै छ।

गगनकुमार थापा

महामन्त्री

२०८० पुस २२