अभ्यास खेलमा नेपालको लगातार तेस्रो जित,स्कटल्याण्ड ७ विकेटले पराजित

२९ पुष २०८०

२९ पुष, स्वच्छखबर, काठमाडौँ । आइसिसी यू-१९ विश्वकपको तयारी अन्तर्गत भएको औपचारीक अभ्यास खेलमा नेपाल विजयी भएको छ। शनिबार दिउँसो भएको खेलमा नेपालले स्कटल्याण्डलाई डकवर्थ लुइस पद्दतिको आधारमा ७ विकेटले हराएको हो ।

जितको लागि १ सय १५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले २९.१ ओभरमा ३ विकेट गुमाएर ९९ रन जोड्दा वर्षाले खेल प्रभावित बनाएपछि खेलको निर्णय डकवर्थ लुइस पद्दतिको आधारमा लिइएको थियो । नेपालका लागि अर्जुन कुमालले ३३ र आकाश त्रिपाठीले २९ रन बनाए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्याण्ड ४४.४ ओभरमा १ सय १४ रनमा अल आउट भयो। स्कटल्याण्डलाई सस्तैमा समेट्ने क्रममा गुलशन झा र तिलक भण्डारीले ३-३ विकेट लिएका थिए ।

यसअघि नामिबिया र स्कटल्याण्डसँग भएको अनौपचारिक अभ्यास खेलमा नेपाल विजयी भएको थियो ।

दक्षिण अफ्रिकामा जनवरी १९ बाट यू–१९ विश्वकप सुरु हुनेछ । यू–१९ विश्वकपमा नेपालसहित १६ वटा राष्ट्रको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ ।

नेपालको समूहमा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तान पनि परेका छन् । यू–१९ विश्वकपमा नेपालले आफ्नो पहिलो खेल जनवरी २१ तारिखमा न्युजिल्यान्डसँग खेल्नेछ । जनवरी २४ तारिखमा नेपालले पाकिस्तानसँग आफ्नो दोस्रो खेल खेल्नेछ । नेपालले तेस्रो खेल जनवरी २७ तारिखमा अफगानिस्तानसँग खेल्नेछ ।