चेल्सी कारबाओ कपको फाइनलमा, मिडिल्सबर्ग ६–१ गोल अन्तरले पराजित

१० माघ २०८०

१० माघ , स्वच्छखबर, काठमाडौं । चेल्सी लिग कप (कारबाओ) को फाइनलमा प्रवेश गरेको छ । गएराति मिडिल्सबर्गमाथि चेल्सीले ६–१ गोल अन्तरको पराजित गरेको थियो । पहिलो लेगमा १–० ले पराजित भएको चेल्सीले दोस्रो लेगमा सानदार जितका साथ फाइनलमा स्थान बनायो ।

समग्रमा चेल्सी ६–२ गोलको जित निकाल्न सफल भयो । घरेलु मैदानमा चेल्सीले उपहार गोल मार्फत अग्रता लिएको थियो । १५ औं मिनेटमा जोनाथन हाउसनले आफ्नै पोस्टमा गोल गरेपछि चेल्सीले अग्रता लियो । २९ औं मिनेटमा इन्जो फर्नान्डेजले गोल गर्दै चेल्सीलाई २–० ले अघि बढाए ।

३६ औं मिनेटमा एक्सल डिसासीले गोल गर्दै पहिलो हाफमै फराकिलो अग्रतातर्फ उन्मुख गराए । ४२ औं मिनेटमा कोल पालमरले गोल गरेपछि चेल्सीले पहिलो हाफमै ४–० को सहज अवस्था बनाएको थियो । ७७ औं मिनेटमा पालमरले व्यक्तिगत दोस्रो गोल गर्दा ५–० को अग्रता कायम भयो ।

८१ औं मिनेटमा चुकुवुनोन्सो मडुकेले टिमका लागि छैटौं गोल गरे । ८८ औं मिनेटमा मोर्गन रोजरले १ गोल फर्काए पनि मिडिल्सबर्गलाई त्यो मात्रै पर्याप्त गोल भएन । चेल्सीले उपाधिका लागि लिभरपुल र फुलह्यामबीचको विजेतासँग खेल्ने छ । पहिलो लेगमा लिभरपुल २–१ गोल अन्तरले विजयी भएको थियो ।