एउटै पार्टीको बहुमत पुग्न गाह्रो भएकाले गठबन्धन : सभापति देउवा

१० माघ २०८०

१० माघ , स्वच्छखबर, वालिङ (स्याङ्जा) । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानअनुसार एउटै पार्टीको मात्रै बहुमत पुग्ने अवस्था नरहेकाले अन्य दलसँग गठबन्धन गर्नुपरेको बताएका छन् ।

कांग्रेस स्याङ्जाको प्रथम जिल्ला सम्मेलनलाई बुधबार सदरमुकाम पुतलीबजारमा सम्बोधन गर्दै उनले हालको संविधानअनुसार कुनै पनि पार्टीको बहुमत नआउने भएकाले गठबन्धन गर्नु रहर नभई बाध्यता रहेको बताएका छन् ।

“संविधानमा समानुपातिक समावेशी प्रणालीको व्यवस्था गरिएकाले पनि एउटा मात्रै पार्टीले बहुमत ल्याउन सक्ने अवस्था देखिंदैन”, उनले भने, “बहुमत पुर्याउनका लागि कुनै न कुनै पार्टीसँग गठबन्धन गर्नुपर्ने बाध्यता छ ।”

कांग्रेसले अहिले नेकपा माओवादी केन्द्रलगायत अन्य पार्टीसँग गठबन्धन गरेको उनले बताए । अहिले अन्य पार्टीसँग गठबन्धन गरिएपनि कुनै समस्या नभएको उनको भनाइ थियो ।

कांग्रेसको इतिहासमा स्याङ्जा क्रान्तिकारी ठाउँ भएको स्मरण गर्दै उनले पार्टीलाई अझै बलियो बनाउन नेता कार्यकर्तालाई निर्देशन दिए । “पार्टीको इतिहासलाई सम्झेर अझै बलियो बनाउने गरी अगाडि बढ्नुहोस्”, उनले भेन,“कांग्रेसले बहुमत ल्याउने गरी लाग्नुहोस् ।”

नेपालमा बहुदलीय व्यवस्था आएपछि मात्रै विकासमा परिवर्तन देखिन थालेका उनको भनाइ थियो । जनताले चाहे जस्तो नभएको होला तर देशमा परिवर्तन भएको सभापति देउवाले बताए  । कांग्रेसका उपसभापति एवं कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्नुको विकल्प नभएको बताए ।

“कांग्रेस सिद्धियो, सिद्धियो भन्छन् म त जस्ताको तस्तै देख्छु”,उनले भने, “हामी एकबद्ध भएर अगाडि बढौँ, थोरै बोलौँ, जुन हाम्रो सभापतिबाट सिकौँ ।” “पार्टी सभापति देउवा थोरै बोलेर पनि काम धेरै गर्नुहुन्छ, उहाँबाट सिक्नुपर्छ”, उनले भने ।