संविधान र गणतन्त्रलाई संस्थागत गर्नु राज्यका सबै अंग र सरोकारवाला सबैको दायित्व हो : प्रधानमन्त्री

११ माघ २०८०

११ माघ , स्वच्छखबर, काठमाडौँ ।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानको पालना र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु राज्यका सबै अंगका र सरोकारवाला सबैको दायित्व भएको बताएका छन् ।

बिहीबार बिहान प्रधानमन्त्री निवास वालुवाटारमा पूर्वन्यायाशीश समाजका पदाधिकारीहरुसँगको छलफलमा प्रधानमन्त्रीले संविधान र कानूनको पालना गर्न लगाउन पूर्वन्यायाधीशहरुको भूमिकासमेत महत्वपूर्ण रहने बताएका हुन् ।

पूर्वन्यायाधीश समाजका अध्यक्ष टोपबहादुर सिंहसहितका पूर्वन्यायाधीशहरुसँगको छलफलमा प्रधानमन्त्रीले अहिले केही व्यक्ति समाजको हारमोनी बिगार्न र राम्रो कामलाई पनि नराम्रो भन्दै प्रचार गर्न लागिपरेको बताए ।

प्रधानमन्त्रीले पूर्वन्यायाधीशहरुले विगतमा संविधान र कानूनमाथि आक्रमण हुँदा आवाज उठाएको उल्लेख गर्दै आगामी दिनमा पनि राज्यका विभिन्न अंग र निकायले गर्ने काममा संविधान, कानूनको पालना भए नभएकोबारे निरन्तर निगरानी गरिरहनु पर्ने बताए ।

प्रधानमन्त्रीले राज्यका जिम्मेवार पदमा बसेका व्यक्तिहरुले भिड हेरेर वा सामाजिक सञ्जालका धारणा हेरेर निर्णय गर्न नहुने भन्दै संविधान र कानूनको पूर्ण पालना गरेर त्यसका आधारमा मात्र निर्णय गर्नुपर्ने बताउए । प्रधानमन्त्रीसँगको छलफलमा पूर्वन्यायाधीशहरुले राज्यको कार्यकारी प्रमुखका नाताले प्रधानमन्त्रीले अहिलेको व्यवस्था सुदृढ गर्न तथा संविधान र कानूनको पालना गराउन भूमिका खेल्नुपर्ने सुझाव दिएका थिए ।