विमानस्थलमा खटिएको प्रहरीद्वारा अध्यागमनका कर्मचारीमाथि हातपात

१२ माघ २०८०

१२ माघ , स्वच्छखबर,काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा खटिएको प्रहरीले कर्मचारीमाथि हातपात गरेको छ । शुक्रबार विमानस्थलको अध्यागमन विभागका प्रमुख गोगनबहादुर हमाल र अध्यागमन अधिकृत छायाँलाल मोक्तानमाथि प्रहरीले हातपात गरेको हो । प्रहरीको कुटपिटबाट घाइते भएका मोक्तानलाई उपचारका लागि अस्पताल लगिएको छ ।

अध्यागमन अधिकृतलाई हातपात गरेको जानकारी पाएपछि प्रमुख हमालले प्रहरीको ज्यादती बढी भएको बताएका थिए । उनले यस्तो बताएपछि उनीमाथि समेत हातपात भएको हो ।

नेपालबाट भिजिट भिसामा विभिन्न देश जानेहरुबाट अध्यागमनका कर्मचारीहरुले लाखौं रुपैयाँ उठाउने गरेको आरोप लागेपछि प्रहरी र अध्यागमनका कर्मचारीबीच पछिल्लो समय तनाव बढेको छ । त्यस्तै विमानस्थलमा सशस्त्र प्रहरी खटाएपछि नेपाल प्रहरी झन् असन्तुष्ट बनेको छ ।