विमानस्थल अध्यागमन कार्यालयमा भएको हातपात घटना छानबिन गर्न समिति गठन

१२ माघ २०८०

१२ माघ , स्वच्छखबर,काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा कर्मचारी र प्रहरीबीच भएको हातपात घटना छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । गृहले मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जीसी सदस्य छन् । अध्यागमन अधिकृत छायाँलाल मोक्तान र विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमालमाथि प्रहरीले शुक्रबार दिउँसो हातपात गरेको जनाइएको छ। सुरूमा प्रहरीले अधिकृत मोक्तानमाथि हातपात गरेका थिए ।

अधिकृत मोक्तानमाथि प्रहरीले हातपात गरेको भन्दै विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमाललाई जानकारी गराइएको थियो । लगत्तै उनी त्यहाँ पुगेका थिए । अध्यागमन अधिकृतलाई हातपात गरेको जानकारी पाएपछि प्रमुुख हमालले प्रहरीको ज्यादती बढी भएको बताएका थिए । उनले यस्तो बताएपछि उनीमाथि समेत हातपात भएको हो ।

नेपालबाट भिजिट भिसामा विभिन्न देश जानेहरुबाट अध्यागमनका कर्मचारीहरुले लाखौं रुपैयाँ उठाउने गरेको आरोप लागेपछि प्रहरी र अध्यागमनका कर्मचारीबीच पछिल्लो समय तनाव बढेको छ । त्यस्तै विमानस्थलमा सशस्त्र प्रहरी खटाएपछि नेपाल प्रहरी झन् असन्तुष्ट बनेको छ।