६ सय जनालाई ठगी गरेको आरोपमा कन्सल्टेन्सी संचालक पक्राउ

१८ माघ २०८०

१८, माघ, स्वच्छखवर, काठमाडौं । ६ सय जनाभन्दा बढी नागरिकलाई ठगेका आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा विकास वाइबा भनिने सुजन तामाङ रेहको प्रहरीले जनाएको छ । तामाङलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितिपुरको ललेबाट पक्राउ गरेको हो ।

वैदेशिक रोजगारीका लागि क्रोसिया,क्यानडा, पोल्यान्ड, पोर्चुगललगायतका विभिन्न मुलुक पठाइदिने भन्दै उनले ६ सयभन्दा बढी व्यक्तिसँग प्रतिव्यक्ति पाँच लाखदेखि १८ लाख रुपैयाँसम्म असुलेको आरोप रहेको छ ।

तामाङले विकास वाइवाको नक्कली परिचय दिई काठमाडौं महानगरपालिका–१६ बालाजु चोकमा ‘युरो विङ्स एजुकेसन कन्सल्टेन्सी’ संचालन गरी सर्वसाधारणलाई ठगी गर्दै को पाइएको  डिएसपी अनिल घिमिरेले जानकारी दिए ।

२०७३ सालदेखि पाँच वर्ष विभिन्न म्यानपावर कम्पनीहरुमा एजेन्टका रुपमा काम गरेका उनी २०७७ सालदेखि ठगीमा लागेका थिए । २०८० सालदेखि विकास वाइवाको नक्कली परिचयबाट उनले बालाजुमा कन्सल्टेन्सी संचालन गर्दै आएका थिए । सोही नामबाट उनले बैंक खाता खोली आफैंले हस्ताक्षर गरी सबै खाले कारोबार गर्दै आएका पाइएको तामाङलाई बिहीबार सार्वजनिक गर्दै प्रहरीले जानकारी दिएको छ । उनीविरुद्ध वैदेशिक रोजगार विभागमा ७० जनाको मुद्दा दर्ता भएको छ ।