विशेष अदालतद्वारा घुससहित पक्राउ परेका उपसचिव नेपाल दोषी ठहर, एकवर्ष कैद सजाय

१९ माघ २०८०

१९ , माघ, स्वच्छखवर, काठमाडौं । घुस रकमसहित पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई विशेष अदालतले दोषी ठहर गरेको छ ।

शुक्रबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उपसचिव नेपाललाई दोषी ठहर गर्दै एक वर्ष कैद र ६ लाख रुपैयाँ जरिवाना असुल्ने फैसला गरेको हो । यो प्रकरणमा पक्राउ परेका हरिभक्त श्रेष्ठलाई भने अदालतले सफाइ दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ साउनमा नेपाल र श्रेष्ठलाई पक्राउ गरेको थियो । घुसबापत सेवाग्राहीबाट बुझेको ६ लाख र आफू चढेको गाडीमा थप साढे १६ लाखसहित अख्तियारले उपसचिव नेपाललाई पक्रेको थियो ।

एक व्यवसायीले प्याराग्लाइडिङ सेवा सञ्चालनका लागि अनुमतिपत्र लिन पर्यटन मन्त्रालयमा आवेदन दिएका थिए । तर रकमको मोलमोलाइ गरेर उपसचिव नेपालले फाइल थन्काइदिएपछि ती सेवाग्राहीले पैसा दिएर काम अगाडि बढाएका थिए । सोही क्रममा घुस लिँदालिँदै नेपाल पक्राउ परेका थिए ।