क्यासिनो प्यालेसबाट एक करोडसहित तीन भारतीय पक्राउ

१९ माघ २०८०

१९ , माघ, स्वच्छखवर,काठमाडौँ ।  प्रहरीले काठमाडौँको दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट एक करोड बढी रकम बराबरको विदेशी मुद्रासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा भारतीय नागरिक गुलाब सिंह, रिसब पावा तथा गौरब चोपडा रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।

उनले भने, “क्यासिनो प्यालेसको अण्डर ग्राउण्डमा अनलाइनमार्फत सट्टेबाजी गराएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट रु एक करोड एक लाख २६ हजार बराबरको विदेशी मुद्रा बरामद गरिएको छ ।” उनीहरुका बारेमा थप अनुसन्धान भइरहेको पनि उनले जानकारी दिए ।