जनताको प्रतिक्रिया र सुझाव आत्मसाथ गर्दै संसद अधिवेशनलाई नतिजामुखी बनाउन सभामुखको आग्रह

२२ माघ २०८०

२२ माघ, स्वच्छखवर, काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय क्रियाकलापको समीक्षा र कमजोरीको सुधारले संसदप्रति जनआस्था वृद्धि हुँदै जाने बताएका छन् । प्रतिनिधिसभाको तेस्रो अधिवेशन प्रारम्भ भएको अवसरमा सोमबार संसद बैठकको सुरुमा सभामुख घिमिरेले जनताको प्रतिक्रिया र सुझाव आत्मसाथ गर्दै संसद् अधिवेशनलाई नतिजामुखी हुने विश्वास व्यक्त गरेका हुन् ।

उनले भने, ‘संसदीय क्रियाकलापको समीक्षा र कमजोरीको सुधारले यस संस्थाप्रतिको विश्वास र भरोसा वृद्धि हुँदै जान्छ । किनभने लोकतन्त्रमा जनता सबैभन्दा माथि हुन्छन् । जनताको प्रतिक्रिया र सुझावलाई आत्मसात् गर्दै आगामी अधिवेशन नतिजामुखी हुने विश्वास व्यक्त गर्दछु ।’ सभामुख घिमिरेले सांसदहरूलाई संसद्मा नयाँ अभ्यास हुन लागेको बताए ।

उनले भने, ‘विधिको शासन, पारदर्शिता र जवाफदेहिता आधुनिक लोकतन्त्रका आधारस्तम्भ हुन् । संसद्मा अवलम्बन गरिने विधि, प्रक्रिया र अभ्यासहरूलाई परिष्कृत, उन्नत र जनमुखी बनाउन हाम्रो सामूहिक प्रतिबद्धता जरुरी छ । संसद्लाई प्रभावकारी, क्रियाशील र जीवन्त बनाउन चालू अधिवेशनदेखि केही नयाँ अभ्यास गर्दैछौं । संसदीय गतिविधि समयबद्ध सञ्चालनका लागि कार्यतालिका लागू गर्ने र विगतमा बजेटमाथिको छलफलमा उठेका टिप्पणीसमेतलाई ध्यानमा राखेर यसै अधिवेशनमा बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दैछौं ।’

सभामुखले संसदीय प्रणालीमा संसद्को काम कानुन निर्माणसँगै सरकारको गठन र नियन्त्रण गर्ने, जनसरोकारका मुद्दाको सम्बोधन गर्ने, सरकारलाई नीति तथा कार्यक्रम कार्यान्वयन गर्न कानुन बनाई सहयोग गर्ने रहेको बताए ।

संसद्का विगतका दुई अधिवेशन कानुन निर्माणका रूपमा नतिजामूखि नभएको आफूले पाएको सभामुखको भनाइ थियो । उनले भने, ‘चालू अधिवेशनमा मुलुकलाई आवश्यक कानुन निर्माण गर्ने र संसदीय गतिविधिहरूलाई थप प्रभावकारी र व्यवस्थित बनाउने प्रण गर्न जरुरी देखेको छु । राष्ट्रका साझा मुद्दाहरूमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको एकतालाई निरन्तरता दिनै पर्दछ ।’ प्रतिनिधिसभाको अर्को बैठके बुधबार बिहान ११ बजेका लागि बोलाइएको छ ।