व्यवसायी चौधरीसहित तीन जना रिहा

२४ माघ २०८०

२४ माघ, स्वच्छखवर, काठमाडौँ । बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा गैरकानुनी तरिकाले आफ्नो नाममा नामसारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीनैजना बुधबार थुनामुक्त भएका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुुसन्धान ब्यूरो (सीआईबी) ले चौधरीसहित पक्राउ परेका कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा र चाँदबाग रेसिडेन्सीका सञ्चालक संजय ठाकुरलाई बुधबार थुनामुक्त गरेको हो ।

उनीहरु १८ माघमा पक्राउ परेका थिए । सीआईबीले पुनः म्याद थपका लागि सोमबार अदालत पेस गरेको थियो । तर, अदालतले दुईदिन थुनामा राखेर अनुसन्धान गर्न र अनुसन्धान नसकिए हाजिरी जमानीमा छोड्न आदेश दिएसँगै उनीहरुलाई सीआईबीले अहिले छोडेको हो ।

न्यायाधीश यज्ञ आचार्यको इजलासले उनीहरूलाई २५ दिन हिरासतमा राख्नुपर्ने नदेखिएको भन्दै सोमबारदेखि लागू हुने गरी दुई दिन म्याद थपेको थियो । सीआइबीले तीन महिनाभन्दा बढी समय अनुसन्धान गरेर उक्त सरकारी जग्गा निजीकरण गरेको फेला पारेको भन्दै तीन जनालाई पक्राउ गरेको थियो।

बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडलाई प्राप्त भएको जग्गामध्ये १० रोपनी जग्गा लिएर त्यहाँ सिजी चाँदवाग रेजिडेन्सी बनाएको पाइएको सीआइबीले जनाएको छ ।