विमानस्थलबाट विदेशी मुद्रासहित दुई जना पक्राउ

१ फाल्गुन २०८०, मंगलवार १९:१३

१ फाल्गुन, स्वच्छखवर, काठमाडौँ । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीको विमानस्थल सुरक्षा कार्यालयको टोलीले फ्लाई दुबईको उडानद्वारा काठमाडौँबाट दुबई प्रस्थान गर्न लागेकी सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ की १९ वर्षीय सुस्मिता गोले र पैसा पठाउने माइला स्याङ्बोलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फका प्रस्थान होल्ड ब्यागेज जाँच गर्ने क्रममा झोलाभित्र साउदी रियल एक लाख ४९ हजार र युएई दिराम १० हजारसहित गोलेलाई पक्राउ गरेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

उनका अनुसार गोलेलाई पक्राउ गरेपछि मुद्रा सम्बन्धमा सोधपुछ गर्दा उक्त रकम सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ का ३४ वर्षीय माइला स्याङ्बोले दिएको खुलेपछि स्याङ्बोलाई पनि पक्राउ गरी अनुसन्धान थालिएको छ ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीका लागि आज राजस्व अनुसन्धान विभाग, हरिहरभवन पठाइएको विमानस्थल प्रहरीले जनाएको छ ।

©२०२२ स्वच्छ साप्ताहिकमा सर्वाधिकार सुरक्षित

Maintained By: I.T. Lization Pvt. Ltd.