मन्त्री ज्वालालाई कारबाही नगरी उन्मुक्ति दिए रास्वपा टुलुटुलु हेरेर बस्दैनः सभापति लामिछाने
६ फाल्गुन, स्वच्छखवर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालामाथि कारबाही गर्न माग गरेका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा सभापति लामिछानेले मन्त्रीलाई कारबाही नगरी उन्मुक्ति दिए रास्वपा टुलुटुलु हेरेर नबस्ने चेतावनी दिए । उनले प्रमाण हुँदा पनि कारबाही नगर्दा सुशासन नरहेको सन्देश गएको बताए ।
उनले दुई युवाको मृत्यु भएको घटनामा प्रतिवेदनले दोषी देखाएका मन्त्रीलाई के गर्ने भन्ने जवाफ प्रधानमन्त्रीले दिनुपर्ने माग गरेका छन् । पुस १३ गते बालकुमारीमा कोरियन भाषा परीक्षा दिने युवाहरू र प्रहरीबीच झडप हुँदा दुई जना को मृत्यु भएको थियो । मन्त्रीको संलग्नता र उपस्थितका कारण घटना भएको भन्ने प्रतिवेदन जाँचबुझ आयोगले बुझाएको छ ।
त्यसैगरी सभापति लामिछानेले सरकार आफ्ना आसेपासेलाई जोगाउने र निर्दोषलाई फसाउने खेलमा सरकार संलग्न रहेको आरोप लगाए । उनले यसको पुष्टि ललिता निवास, भुटानी शरणार्थी प्रकरणबाट देखिएको बताए । उनले भने, ‘छानबिन आयोगले दोषी देखाउँदा देखाउँदै पनि अन्य विषयमा भाषण दिँदै जाने नैतिकता कहाँ बाट आउँछ? सरकार प्रमाण नभेटेकाहरूलाई जसरी पनि खोज भनेर लागिरहने तर छताछुल्ल प्रमाण भएकालाई वरपर लिएर हिँड्ने हो भने विधिको शासनको कुरा नगरे पनि हुन्छ।’
प्रतिक्रिया दिनुहोस्: