प्रधानमन्त्री बन्दा १५ /२० दिन हो भन्ने सोचेको थिएँ, १३ दिनमा बाजपेयी हटेको देखेपछि आनन्द लाग्योः प्रधानमन्त्री

६ फाल्गुन २०८०

६ फाल्गुन, स्वच्छखवर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई कुर्सी हल्लिने कुनै डर नभएको बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकका सांसदसँगको प्रश्नोत्तरमा प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक सेवा प्रवाह गर्ने भन्ने मात्र आफ्नो दिमागमा रहेकाले सरकार ढल्ने बिल्कुलै डर नभएको बताएका हुन् ।

रास्वपाका सांसद गणेश पराजुलीले नक्कली भुटानी शरणार्थी प्रकरण, सुन तस्करी प्रकरण आदिमा छानबिन अघि बढाउँदा प्रधानमन्त्रीलाई कुर्सी हल्लिने डर भएको जस्तो देखिएको बताएपछि प्रधानमन्त्रीले यस्तो जवाफ दिएका हुन् ।

प्रधानमन्त्रीले भने, ‘कुर्सी ढल्ने मलाई डर छैन । अहिलेको प्रतिपक्षीले, पहिलेको प्रमुख प्रतिपक्षले मलाई प्रधानमन्त्री बनाएको हो । प्रधानमन्त्री बन्दा १५ दिन हो कि २० दिन हो भन्ने सोचेको थिएँ । विश्वको अध्ययन गरेको थिएँ । नजिकै छिमेकी देश भारतमा १३ दिनमा अटल बिहारी बाजपेयी हटेको देखेपछि आनन्द मानेको थिएँ ।’