त्रिविको उपकुलपतिमा तीन जनामा तेस्रो चाहिं नियुक्ति हुन्छन् जस्तो लाग्छ मलाईः अध्यक्ष ओली

७ फाल्गुन २०८०

७ फाल्गुन, स्वच्छखवर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा असफलसिद्ध व्यक्तिलाई ल्याउन लागिएको बताएका छन् । सोमबार पार्टी निकटको राष्ट्रसेवक सहकारीको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले त्रिविको उपकुलपतिमा भागवण्डा नगरी एकलौटी गरेको बताएका हुन् ।

उनले भने, ‘असफलसिद्ध मान्छेहरुको छनोट गर्ने, अहिले त्रिविको उपकुलपतिमा तीन जना सिफारिस भएको छ क्यार ! तीन जनामा तेस्रो चाहिं नियुक्ति हुन्छन् जस्तो लाग्छ मलाई । किनभने धेरै असफल भएको मान्छे चाहियो नि !’

उपकुलपतिमा चित्रबहादुर बुढाथोकी, टंकनाथ धमला र केशरजंग बरालको नाम सिफारिस भएको छ । त्यसैगरी अध्यक्ष ओलीले गैरसहकारी व्यक्तिहरू सहकारीमा प्रवेश गरेर ठगी धन्दामा लागेको बताए ।

उनले भने, ‘जसले नाफा कमाउने शोषणकारी ठगी धन्दाको रूपमा सहकारीलाई प्रयोग गर्न खोजेका छन् । तिनीहरूले धेरै मान्छेलाई डुबाए । ‘सहकारीमा आएको सङ्कट पुँजीपतिहरूले हात हाले । पुँजीपतिले त उद्योग व्यवसाय चलाउने हो सहकारी होइन । तर पुँजीपतिहरूले सहकारी चलाउने भनेर धन्दाको रूपमा अघि बढाउन थालेपछि बर्बाद हुने नै भयो ।’