जेठ १० गतेदेखि डोल्पामा यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

१३ बैशाख २०८१

१३ बैशाख, स्वच्छखबर,डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न खुला गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालको अध्यक्षतामा जिल्ला सदरमुकाम दुनैमा बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो ।

जिल्लामा रहेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र डिभिजन वनको क्षेत्रमा यार्सागुम्बा सङ्कलन गर्न खुला गरिने प्रजिअ दाहालले जानकारी दिए ।

बैठकले यार्सा सङ्कलन गरिने क्षेत्रमा सुरक्षाकर्मी परिचालन एवं स्वास्थ्य शिविर आयोजना गरिने निर्णयसमेत गरेको छ । प्रत्येक वर्ष डोल्पाका उच्च हिमाली क्षेत्रमा रहेका यार्सा सङ्कलन गर्न बीसौँ हजार सर्वसाधारण पुग्ने गर्दछन् । डोल्पाका यार्सा पाटन वन क्षेत्रमा भन्दा निकुञ्ज क्षेत्रमा धेरै पर्ने गर्दछन् ।

यार्सागुम्बा सङ्कलन गर्न पाटन प्रवेशका लागि तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था निकुञ्जले गरेको छ । मध्यवर्ती क्षेत्रभित्रका बासिन्दालाई एक हजार, डोल्पा जिल्लाभित्रका बासिन्दालाई दुई हजार र जिल्ला बाहिरकालाई तीन हजार तोकिएको छ ।

निकुञ्ज र वन क्षेत्रका यार्सा सङ्कलन गर्न लुकीछिपी अवैधरुपमा मानिसहरु जाने गरेका छन् । डोल्पामा वैशाखमै यार्सा उम्रिसक्ने भएकाले जुम्ला र डोल्पाका सर्वसाधारण सङ्कलन गर्न जाने बताइएको छ ।

निकुञ्जले अवैधानिकरुपमा छिरेका ७५ जनालाई पक्राउ गरेर छोडिसकेको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले निकुञ्ज क्षेत्रमा सेनाले नियमित गस्ती गरिरहेको बताए ।

तोकिएको मितिभन्दा अगाडि पाटन प्रवेश गर्न खोज्ने जो कोहीलाई समातेर कानुनी कारबाही गरिने उनको भनाइ छ । डोल्पाली जनताको मुख्य आम्दानीको स्रोतको रुपमा रहेको यार्सागुम्बा सङ्कलन गर्नका लागि छिमेकी जिल्ला रुकुम, जाजरकोट, सल्यान, जुम्लालगायतका जिल्लाबाट हजारौँको सङ्ख्यामा सर्वसाधारण पुग्ने गर्दछन् ।