पर्यटकीय राजधानी पोखरामा श्रमाधान रोजगार मेला सुरु

२१ जेष्ठ २०८१

गण्डकी । पर्यटकीय राजधानी पोखरामा सोमबारदेखि श्रमाधान रोजगार मेला सुरु भएको छ । मेलाको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संयुक्त रुपमा उद्घाटन गरे ।

मन्त्री अर्यालले रोजगारदाता कम्पनी र रोजगारको खोजीमा रहेकाको मिलनबिन्दुका रुपमा मेलाको भूमिका रहने बताए ।

“रोजगारीका अवसर सिर्जना, सीप विकास र उद्यमशीलता प्रवर्द्धन गर्नेलगायत उद्देश्यसहित श्रमाधान रोजगार मेलाको आयोजना गरिएको हो”, उनले भने, “नेपालको श्रम बजार र रोजगारबारे जानकारी तथा परामर्श लिने थलोका रुपमा यो मेलालाई लिन सकिन्छ ।”

मन्त्री अर्यालले कामको खोजीमा विदेश गएका युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने धारणा राखे । “देशमा रोजगारी दिन चाहाने संस्था/कम्पनी धेरै हुनुहुन्छ, रोजगारको खोजीमा रहेका युवा पुस्तालाई त्यहाँसम्म जोड्न यो मेलाले महत्वपूर्ण सहयोग पुर्याउनेछ”, उनले भने ।

मन्त्री अर्यालले श्रम क्षेत्रका समस्या समाधानका लागि मन्त्रालयमा स्तरीय श्रमाधान कल सेन्टर स्थापना गरिएको जानकारी दिए ।

पैसा नलाग्ने फोन नम्बर ११४१ फोन गरेर जोकोहीले आफ्ना समस्या, सुझाव तथा गुनासा राख्न सक्ने उनको भनाइ छ । मुख्यमन्त्री पाण्डेले रोजगार अभाव मुलुकको प्रमुख समस्या रहेको बताए ।

“रोजगारीका समस्यालाई सही ढङ्गले समाधान गर्न नसकेका कारण राजनीतिक प्रणाली र व्यवस्थामाथि नै टिकाटिप्पणी भइरहेको छ”, उनले भने, “अहिलेको मुख्य चुनौती भनेको श्रमशक्ति र रोजगारको व्यवस्थापन हो ।” मुख्यमन्त्री पाण्डेले एकैसाथ ठूलो सङ्ख्यामा रोजगारी सिर्जना गर्न सक्ने निजी क्षेत्रलाई लगानीमा आकर्षण गर्न लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने बताए ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले रोजगारदाता र रोजगार गर्न चाहानेहरुबीचमा परामर्श र सूचना आदानप्रदानका लागि मेला महत्वपूर्ण रहने बताए ।