टी–२० विश्वकपमा आयरल्यान्डलाई हराउँदै क्यानडाको ऐतिहासिक जित

२६ जेष्ठ २०८१

आईसीसी टी–२० विश्वकप क्रिकेटमा क्यानडाले टेस्ट देश आयरल्यान्डलाई हराउँदै ऐतिहासिक जित निकालेको छ। एसोसियट देश क्यानडाले पहिलो पटक विश्वकप खेलेको हो । गएराति न्यूयोर्कमा भएको खेलमा क्यानडाले आयरल्यान्डलाई १२ रनले हरायो ।

टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ३७ रन बनाएको थियो । उसका निकोलस किर्टोन अर्धशतक बनाउन एक रनले चुके । उनले ४९ रन बनाए । त्यस्तै श्रेयस मोभ्भाले ३७ रन जोडे । आयरल्यान्डका क्रेग योङ र ब्यारी माक्कार्थीले समान दुई तथा मार्क अडेर र गेराथ डेलानीले एक/एक विकेट लिए ।

जितका लागि एक सय ३८ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय २५ रन मात्र बनाउन सक्यो । आयरल्यान्डका मार्क अडेरले सर्वाधिक ३४ रन बनाए । क्यानडाका जेरेमी गोर्डन र डिलोन हेलिगरले समान दुई तथा जुनेद सिद्दिकी र साद विन जफरले एक/एक विकेट लिए । समूह ‘ए’ मा रहेको क्यानडाको दुई खेलमा यो पहिलो जित हो । आयरल्यान्डले लगातार दोस्रो खेल हारेको छ ।