प्रधानमन्त्री ओलीलाई संसदमा विश्वासको मत प्राप्त, पक्षमा १८८ मत

६ श्रावण २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत प्राप्त गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा भएको विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा १८८ मत परेको थियो भने विपक्षमा ७४ मत परेको थियो । त्यस्तै एक सांसद तटस्थ बसेका छन् । मतदानमा २६३ सांसद सहभागी भएका थिए ।

यो दुई तिहाईको समर्थन हो । प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले मत दिएका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादीले भने विपक्षमा मत दिएका छन् । नेपाल मजदुर किसान पार्टी भने तटस्थ बस्यो ।

कांग्रेस र एमालेबीच भएको समझदारी अनुसार ओलीले पहिलो दुईवर्ष र त्यसपछि २०८४ को निर्वाचनसम्मका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्नेछन् । दुई दलले मुलुकका राजनीतिक स्थिरता, संविधान संशोधनलगायतका मुद्दा अघि सारेका छन् ।