पार्टीलाई आस्था र निष्ठाको केन्द्र बनाउने गगन थापाको प्रतिवद्धता

२० श्रावण २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीलाई आस्था र निष्ठाको केन्द्र बनाउने प्रतिवद्धता जनाएका छन् ।

आइतबार कांग्रेस निकट प्रजातन्त्र सेनानी संघको प्रशिक्षणलाई सम्बोधन गर्दै महामन्त्री थापाले पार्टीभित्र भएका गल्ती तथा कमजोरीलाई सच्याएर अग्रज नेता तथा कार्यकर्ताले भरोसा गर्ने ठाउँमा पुर्याउने बताएका हुन् ।

उनले पार्टीले गर्ने निर्णयहरूलाई शुद्ध र पवित्र राख्ने पनि बताए । पार्टीभित्रको शुद्धीकरणको विषयलाई पनि आफूहरूले गम्भीरतापूर्वक लिएको उनले बताए ।

उनले भने, ‘नेपाली कांग्रेस पार्टी अझ शुद्ध होस् । पार्टीको निर्णयहरूको पक्षमा चोक, चौतारामा मज्जाले वकालत गर्न पाइयोस्, बोल्न पाइयोस् । पार्टीले गर्ने निर्णयहरूको कारणले गर्दा तपाईँहरू कसैको शिर ननिहुरियोस् । कतिपय कुरा परिणाममा पुर्याउन नसकिएको होला । तर प्रयत्न गर्ने कुरा छोडेको छैन्, छोड्दैनौं ।’