भारतमा कोरोना संक्रमितको संख्या दोब्बर गतिमा बढ्दै, २३९० सक्रिय संक्रमित

१८ जेष्ठ २०८२

काठमाडौं । छिमेकी मुलुक भारतमा तीव्र गतिमा कोरोना संक्रमण बढिरहेको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितहरूको संख्या २ हजार ३९० पुगेको हो ।

भारतमा रहेका कुल २ हजार ३९० सक्रिय संक्रमितहरू मध्ये केरलामा सबैभन्दा धेरै ७२७ संक्रमितहरू छन् । केरलाको अवस्था खराब हुँदै गइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सक्रिय संक्रमितको हिसाबले महाराष्ट्र दोस्रो स्थानमा छ । शुक्रबार महाराष्ट्र ८४ नयाँ केसहरू रिपोर्ट गरिएको थियो । यहाँ ६८१ सक्रिय संक्रमितहरू छन् ।

यसैगरी, पछिल्लो २४ घण्टामा कर्नाटकको मैसूरमा ६३ वर्षीय एक पुरुषको कारोनाको कारण मृत्यु भएको छ । योसँगै कर्नाटकमा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

यसबाहेक महाराष्ट्र, केरला, राजस्थान, उत्तर प्रदेश र मध्य प्रदेशमा जम्मा १३ जना संक्रमितको मृत्यु भएको छ । कोरोनाको कारण हालसम्म मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

यस्तै, बिहारमा कोरोना भाइरसको नयाँ लहरको खतरा तीव्र गतिमा बढ्दै गएको छ । पटनामा पछिल्लो २४ घण्टामा एक डाक्टरसहित ७ जनामा ​​कोरोना संक्रमण भेटिएको छ ।

यी मध्ये नालन्दा मेडिकल कलेज अस्पतालमा गरिएको परीक्षणमा ३ जना संक्रमित भेटिएका थिए भने दुई निजी प्रयोगशालामा गरिएको परीक्षणमा ४ जनामा ​​कोरोना पोजेटिभ देखिएको थियो ।

सिभिल सर्जनको कार्यालयमा पठाइएको रिपोर्टमा कोरोना संक्रमितको संख्या खुलेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।