‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक:घरबाटै नक्सा प्रिन्ट,फिल्डबुक,प्लट रजिस्टर तथा रेखांकनका लागि अनलाइनबाटै आवेदन
काठमाडौँ । नापी विभागले ‘मेरोकित्ता मोबाइल एप सार्वजनिक गरेको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको उपस्थितिमा बिहीबार एप सार्वजनिक गरिएको हो ।
उक्त एपमार्फत नागरिकले जग्गासम्बन्धी सेवाहरु घरमै बसेर प्राप्त गर्न सक्ने भएका छन्। एपमार्फत नक्सा प्रिन्ट, फिल्डबुक उतार, प्लट रजिस्टर उतार तथा फिल्ड रेखांकनका लागि अनलाइन आवेदन दिन सकिनेछ। आवेदन दर्तापछि प्रणालीबाट ओटीपी (OTP) उपलब्ध हुने र सेवाग्राहीले मोबाइल नम्बर तथा ओटीपी प्रयोग गरी आफ्नो आवेदनको अवस्था (Status) नियमित रूपमा हेर्न सक्नेछन्।
यस्तै, ई– सेवा, खल्ती र कनेक्ट आईपीएस मार्फत राजस्व तिर्न सकिने सुविधा पनि एपमा समावेश गरिएको छ। फिल्ड रेखांकन सेवाका लागि आवश्यक राजस्वसमेत अनलाइनबाटै भुक्तानी गर्न सकिने नापी विभागले जनाएको छ।
एपमार्फत सम्बन्धित नापी कार्यालयका कार्यालय प्रमुख तथा सूचना अधिकारीको सम्पर्क नम्बरसमेत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। ‘मेरोकित्ता सेवा मोबाइल एपसँगै वेब संस्करणमा पनि उपलब्ध रहेको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्: