वैदेशिक रोजगारका क्षेत्रमा सिर्जित नीतिगत तथा व्यावहारिक समस्या समाधानको पहल सुरु

३० जेष्ठ २०८३

नेपाल वैदैशिक रोजगार व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिले वैदेशिक रोजगारका क्षेत्रमा सिर्जित नीतिगत तथा व्यावहारिक समस्या समाधानको पहल सुरु गरेको छ ।

संघको नवनिर्वाचित कार्यसमितिले शुक्रबार युवा, श्रम तथा रोजगार मन्त्रालयका सचिव डा. दीपक काफ्ले र वैदेशिक रोजगार विभागकी महानिर्देशक मिरा आचार्यलाई छुट्टाछुट्टै भेटेर वैदेशिक रोजगार क्षेत्रमा रहेका नीतिगत तथा व्यावहारिक समस्या समाधानका लागि ध्यानाकर्षण गराएको हो ।

संघका अध्यक्ष डिकबहादुर खत्रीको नेतृत्वमा गएको व्यवसायीको प्रतिनिधिमण्डले सचिव डा. काफ्लेसँग सेवाशुल्क तथा वैदेशिक रोजगार ऐन संशोधनका विषयमा र महानिर्देशक आचार्यलाई संस्थागत उजुरीका सुनुवाइका सम्बन्धमा विभागले अपनाउने शैलीका बारेमा ध्यानाकर्षण गराएको हो ।

महानिर्देशक आचार्यसँगको भेटपछि संघका अध्यक्ष खत्रीले व्यावहारिक समस्याहरूमाथि गम्भीर छलफल गरेको भन्दै चरणबद्धरूपमा समस्या समाधान हुने अपेक्षा गरिएको बताए । शुक्रबारको छलफलपछि आपसी अविश्वास हटाउने विषयमा सकारात्मक वातावरण बनेको अध्यक्ष खत्रीले बताए । मूल समस्या वैदेशिक रोजगार ऐन र २०७२ सालदेखि लागू भएको ‘फ्रि भिसा फ्रि टिकट’को व्यवस्था रहेको भन्दै अध्यक्ष खत्रीले त्यसलाई परिमार्जन नगरी ऐनमात्रै कार्यान्वयन हुनुपर्छ भन्ने विभागको दृष्टिकोण रहेको अवस्थामा व्यवसायीका अगाडि व्यवसाय बन्द गर्नुको विकल्प बाँकी नरहने बताए ।

अध्यक्ष खत्रीले अन्तर्राष्ट्रिय अभ्यासअन्तर्गत विभागमा लामो समयदेखि गुनासो सुनुवाइको असल प्रचलन रहेको र त्यसले विगतमा ३ हजार ७ सय उजुरीको छिनोफानो गरेकाले आगामी दिनमा मेलमिलापको माध्यमबाट गुनासो सुनुवाइको असल अभ्यासलाई निरन्तरता दिइने बताए ।

छललफमा संघका पूर्वअध्यक्ष राजेन्द्र भण्डारीसहित द्वितीय उपाध्यक्ष अनिल बोगटी, महासचिव हरि डाँगी, सचिव केदारनाथ अधिकारी, कोषाध्यक्ष धनमाया सिन्जाली तथा कार्यसमिति सदस्यहरू रमा खड्का, तारा तामाङ, तारामणि राई, ध्रुव जिसी, भावना गजुरेल, रविन्द्र राई, विवश ढुंगाना (दीपक), दीक्षा थपलिया, बाबुराम न्यौपाने र गीता राउत सहभागी भएका थिए ।