कांग्रेसलाई अदालतले टुक्रा बनायो, यो गलत थियोः शशांक कोइराला

३१ जेष्ठ २०८३

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले मुलुकको हितका लागि पार्टी एक हुनुपर्ने बताएका छन् । आइतबार विराटनगरमा कांग्रेसको संस्थापन इतर समूहको भेलालाई सम्बोधन गर्दै कोइरालाले राष्ट्रको लागि पनि कांग्रेसमा एकताको जरुरी रहेको बताएका हुन् ।

उनले व्यावहारिकरूपमा पार्टी फुटिसकेको भएपनि इतिहास र हालसम्मका संस्थागत उपलब्धिलाई जोगाउनका लागि कांग्रेसमा एकता जरुरी रहेको बताए ।

उनले भने, ‘कांग्रेस आज टुक्रिएको छ, टुक्राइएको हो । अदालतले टुक्रा बनायो, यो गलत थियो । अब पार्टी एकता गरेर अघि बढ्नुपर्छ । गाउँभरि कांग्रेस छन् ।’

उनले वर्तमान सभापति गगन थापाले यति धेरै पुराना र अनुभवी नेताहरू बाहिर राखेर पार्टी चलाउन नसक्ने बताए । उनले प्रश्न गरे, ‘के गगन थापाले एक्लै पार्टी चलाउन सक्नुहुन्छ ?’

उनले एक्लै पार्टी चलाउन सम्भव नहुने भन्दै सबैलाई समेटेर अघि बढ्न आग्रह गरे । कोइरालाले पार्टीको भविष्यलाई उज्वल बनाउन र मुलुकलाई सही दिशा दिनका लागि विगतका तिक्तता त्यागेर पार्टी एकताको वातावरण सृजना गर्न आह्वान गरे ।