ठैब मस्तिष्क पक्षाघात संरक्षक समाजको आयोजनामा मस्तिष्कघातबारे सचेतनामूलक कार्यक्रम सम्पन्न

१७ असार २०८३

मायालु लामा,गोदावरी । अहिले नेपाल लगायत विश्वमा नै मस्तिष्कघातको समस्या बढ्दो गतिमा छ। व्यक्तिको आयु लम्बिरहेको वर्तमान अवस्थामा मस्तिष्कघातको समस्या पनि त्यही गतिमा बढिरहेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार, प्रतिवर्ष विश्वमा १ करोड ५० लाख व्यक्तिहरुलाई मस्तिष्कघात हुने गर्छ। त्यसमध्ये ५० लाखको मृत्यु हुन्छ भने ५० लाख व्यक्ति चिकित्सकको उपचारपछि सामान्य अवस्थामा फर्किने गरेका छन्। त्यसमा ५० लाख पूर्ण रुपमा अपाङ्ग हुने गर्छन्। हरेक ६ सेकेन्डमा एकजनालाई मष्तिष्क घातले असर गर्दछ र हरेक ४ जनामा एक जनालाई मष्तिष्कको लक्षण देखिन्छ ।

भएका विरामीहरुको उपचारमा चिकित्सकहरुको समन्वयको अत्यन्त आवश्यक पर्ने र गोल्डेन समय भित्रमा उसको उपचार एवं व्यवस्थापन हुन सकेको खण्डमा विरामीहरुलाई धेरै क्षति हुनबाट जोगाउन सकिने भएकोले छलफल एवं अन्तरकृया आवश्यक भएको हुँदा ललितपुरको गोदावरी नगरपालिका वडा नं. १४ को सहकार्य तथा ठैब मस्तिष्क पक्षाघात संरक्षक समाजको आयोजनामा मस्तिष्क पक्षाघात सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

आइतबार सम्पन्न कार्यक्रममा मस्तिष्क पक्षाघातका कारण, लक्षण, समयमै पहिचान, उपचार, पुनर्स्थापना तथा विशेष आवश्यकता भएका बालबालिकाको हेरचाह र अधिकारका विषयमा सहभागीहरूलाई जानकारी प्रदान गरिएको थियो। साथै, मस्तिष्क पक्षाघात भएका बालबालिकाप्रति समाजमा सकारात्मक सोचको विकास गर्दै उनीहरूलाई समान अवसर र सम्मानजनक व्यवहार गर्नुपर्नेमा जोड दिइएको थियो।

गोदावरी नगरपालिका वडा नं. १४ का वडाध्यक्ष निरोज  बज्राचार्यले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सरोकारवाला निकाय, प्रशिक्षक, सहभागी तथा आयोजक संस्थाप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रम संचालनले समाजमा मस्तिष्क पक्षाघात भएका बालबालिका प्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।

सहभागीहरूले यस्ता सचेतनामूलक कार्यक्रमले समुदायमा सही जानकारी प्रवाह हुनुका साथै मस्तिष्क पक्षाघातप्रति रहेका भ्रम र विभेद हटाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए। मस्तिष्क पक्षाघात भएका बालबालिका र उनीहरूका परिवारप्रति समाजले सकारात्मक दृष्टिकोण अपनाउनुपर्ने, विभेदरहित वातावरण निर्माण गर्नुपर्ने तथा स्थानीय तह, अभिभावक र समुदायबीचको सहकार्य अझ सुदृढ हुनुपर्नेमा उनीहरूकाे जोड थियाे ।

उक्त सचेतना कार्यक्रमका लागि मस्तिष्क पक्षाघात स्वावलम्वन समूह,धापाखेलले प्रशिक्षक सहयोग गरेकाे आयाेजकले धन्यवाद व्यक्त गरेकाे छ ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, अभिभावक, स्वास्थ्यकर्मी, समाजसेवी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजक संस्थाले यस्ता सचेतनामूलक कार्यक्रमले मस्तिष्क पक्षाघातप्रति समाजमा रहेको भ्रम हटाउन, जनचेतना अभिवृद्धि गर्न तथा प्रभावित परिवारलाई थप हौसला प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।

आगामी दिनमा पनि समुदायस्तरमा यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै मस्तिष्क पक्षाघात भएका व्यक्तिहरूको अधिकार, सम्मान र सामाजिक सहभागिता अभिवृद्धिका लागि सक्रिय रहने आयोजकले जनाएको छ।